दक्षिण कोरियामा ‘हिट वेभ’ चेतावनी, घरबाहिर ननिस्किन अपील

२८ असार २०८३, आईतवार १२:०४

काठमाडौं । दक्षिण कोरियाले अत्यधिक गर्मीका कारण पहिलोपटक ‘हिट वेभ’ को आपत्कालीन चेतावनी जारी गर्दै सकेसम्म घरबाहिर ननिस्किन अपील गरेको छ। आइतबार बिहान १० बजे ग्योङ्सान र पोहाङ सहरमा यो चेतावनी जारी गरिएको हो।

स्वस्थ व्यक्तिलाई समेत बाहिर बस्दा हिट स्ट्रोक लगायत ज्यानै जोखिममा पार्ने समस्या हुन सक्ने अवस्था आएपछि चेतावनी जारी गरिएको जनाइएको छ। कोरिया डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन एजेन्सी (केडीसीए) ले ती क्षेत्रमा बाहिरी काम, व्यायाम र सार्वजनिक कार्यक्रम तत्काल रोक्न वा सार्न आग्रह गरेको छ।

कोरिया मेटियोरोलोजिकल एडमिनिस्ट्रेसन (केएमए) का अनुसार कुनै क्षेत्रमा लगातार दुई दिनसम्म अनुभूत गरिने तापक्रम ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रहने र त्यसपछि ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्ने वा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नाघ्ने अनुमान भएमा यस्तो चेतावनी जारी गरिन्छ।

शनिबार ग्योङ्सानको हायाङ–युप मा अधिकतम तापक्रम ३९.९ डिग्री सेल्सियस पुगेको थियो भने पोहाङको गिग्ये–म्योन मा ३७.२ डिग्री सेल्सियस मापन गरिएको थियो। आइतबार पनि तापक्रम करिब ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। नर्थ प्यासिफिक र तिब्बती उच्च चापीय प्रणाली एकैसाथ सक्रिय हुँदा तथा पहाड पार गरेर आउने तातो हावाको प्रभावका कारण गर्मी अझ बढेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*