तीन दिन देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं । आगामी तीन दिन देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन १९ गतेदेखि २१ गतेसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ ।
आज मंगलबार देशभर सामान्यतया बादल लाग्नेछ । हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । कोशी प्रदेशको तराई तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
मंगलबार राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।
भोलि बुधबार पनि देशभर बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
बुधबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
पर्सि बिहीबार पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
बिहीबार राति हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण केही स्थानमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।











