१५ दिनमै करिब ११ लाख उपभोक्ता करदाता उपहारका लागि छनोटयोग्य

काठमाडौँ । करदाता उपहार प्रोत्साहन कार्यक्रमअन्तर्गत उपहारका लागि योग्य कारोबार संख्या करिब ११ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म क्युआरमार्फत गरिएको कारोबार र नगद खरिदपछि अपलोड गरिएका बिलसहित योग्य कारोबार संख्या १० लाख ८२ हजार ६ सय २२ पुगेको हो ।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म क्युआरमार्फत गरिएका १० लाख ७४ हजार ७ सय ९६ कारोबार उपहार कार्यक्रमका लागि योग्य छन् । शनिबारदेखि सञ्चालनमा ल्याइएको करदाता प्रोत्साहन पोर्टलमार्फत भौतिक बिल अपलोड गर्ने सुविधा सुरु भएपछि सोमबार मध्याह्नसम्म योग्य कारोबार र बिल संख्या १० लाख ८२ हजार ६ सय २२ पुगेको विभागले जनाएको छ ।
विभागले पहिलो चरणमा साउन १ देखि १५ गतेसम्मका कारोबारका आधारमा १५ जनालाई दैनिक एक–एक लाख रुपैयाँ र एकजनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने तयारी गरेको छ । उपहार घोषणा हुनुअघि नगद कारोबार गरी बिल लिएका उपभोक्तालाई आफ्नो बिल करदाता प्रोत्साहन पोर्टलमा प्रविष्ट गर्न विभागले अनुरोध गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यसहित यो कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रमअनुसार एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।











