राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार हाल कायम रहेको सात सदस्यीय नै राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावबारे मन्त्रालयको धारणा राख्दै प्रस्तावित नौ सदस्यीय संरचनाभन्दा हालको सात सदस्यीय समिति बढी छरितो र प्रभावकारी हुने बताए। “माननीयज्यूहरूको सुझाव र मन्त्रालयको महसुसअनुसार सञ्चालक समितिलाई सात सदस्यीय नै राख्नु उपयुक्त देखिन्छ,” उनले भने, “यद्यपि, समितिलाई समावेशी बनाउन नियुक्त हुने तीनजना सदस्यहरूमध्ये एकजना महिला अनिवार्य गर्ने व्यवस्था गर्न सकिन्छ ।”
डेपुटी गभर्नरको संख्या बढाउने विषयमा पनि मन्त्रालयले हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने धारणा राखेको छ। अर्थसचिव उपाध्यायका अनुसार राष्ट्र बैंकको वर्तमान कार्यबोझ र जनशक्ति विश्लेषणका आधारमा दुई डेपुटी गभर्नर पर्याप्त छन्।
उनले डिजिटल बैंकिङतर्फ मुलुक अघि बढिरहेको अवस्थामा उपलब्ध जनशक्ति पर्याप्त रहेको उल्लेख गर्दै भविष्यमा कार्यबोझ बढे संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत दरबन्दी व्यवस्थापन गर्न सकिने, तर ऐनमै संख्या तोकेर बढाइरहन आवश्यक नरहेको बताए।
अर्थसचिव सञ्चालक समितिमा पदेन सदस्य रहने वा नरहने विषयमा भने समितिमा छलफल जारी रहेको उनले जानकारी दिए।











