ग्यास आयात नियमित तर बजारमा अभाव, उद्योग संघले खुलायो कारण

काठमाडौँ । एल.पि. ग्यास उद्योग संघ नेपालले पछिल्लो समय एल.पि. ग्यासको माग बढेसँगै देशका विभिन्न स्थानमा उपभोक्ताहरू ग्यासका लागि लामो लाइनमा बस्नुपर्ने र लाइन बसेर पनि ग्यास नपाएर भौतारिनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी हार्दिक अपिलमा विगतमा तेस्रो मुलुकमा भएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि आम उपभोक्ताको सहजताका लागि आधा सिलिण्डर (७.१ के.जी.) ग्यास मात्र उपलब्ध गराइएको स्मरण गराइएको छ। अपिलमा वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय परिस्थिति सुधार हुँदै गएको, ग्यास आयात साविकबमोजिम नियमित भएको, आम उपभोक्ताको चाहना पनि भरी सिलिण्डर (१४.१ के.जी.) प्रयोग गर्ने रहेको तथा आधा सिलिण्डरको व्यवस्थाले उद्योगी र उपभोक्ता दुवैको अनावश्यक व्ययभार बढाएको उल्लेख गर्दै साविकबमोजिम भरी सिलिण्डरको प्रयोग नियमित गरिएको जानकारी दिइएको छ।
संघका अनुसार आयात नियमित भइरहे पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत चार महिनाको अवधिमा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात हुनु, आवश्यकता भन्दा धेरै लामो समयसम्म आधा सिलिण्डरको प्रयोग हुनु तथा आम उपभोक्तामा ‘ग्यास पाइँदैन कि’ भन्ने सोचले सबै खाली सिलिण्डर एकैपटक भर्न खोज्नु रहेको छ।
संघले यो समस्याको उचित समाधानका लागि नेपाल आयल निगम लिमिटेड, उद्योगी, विक्रेता र आम उपभोक्ताबीच आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। सबै पक्षले हातेमालो गर्न सके निकै छोटो समयमा समस्या समाधान भई बजार सहज बनाउन सकिने विश्वास पनि संघले व्यक्त गरेको छ।
अपिलमा कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्ताले तत्काल लाइनमा नबसिदिन आग्रह गरिएको छ। त्यसैगरी, विक्रेताले उपलब्ध ग्यास आम उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्नुपर्ने, उद्योगहरूले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै पारदर्शी र व्यवस्थित रूपमा बजारमा ग्यास पठाउनुपर्ने तथा नेपाल आयल निगमले बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्नुपर्नेमा जोड दिइएको छ।












