एमजी एस५ ईभीमा प्राविधिक त्रुटि, आगलागी जोखिमपछि हजारौँ गाडी रिकल

१९ श्रावण २०८३, मंगलवार १४:२३

काठमाडौँ । नेपाली अटो बजारमा समेत बिक्री वितरण भइरहेको एमजी एस५ विद्युतीय गाडी (ईभी) मा आगलागीको जोखिम रहेको तथ्य सार्वजनिक भएको छ । निर्माता कम्पनी एमजीले आफ्नै एस५ विद्युतीय गाडीमा प्राविधिक समस्या रहेको स्वीकार गर्दै विश्वभर उत्पादन भएका ९ हजार ८०६ वटा सवारीसाधन फिर्ता बोलाउने निर्णय गरेको हो।

एमजीका अनुसार सन् २०२५ जनवरी २२ देखि २०२६ जनवरी २९ सम्म उत्पादन गरिएका एस५ विद्युतीय गाडीमा एउटा विशेष प्राविधिक समस्या देखिएको छ। अत्यधिक चिसो मौसममा गाडीको शीतलन पङ्खा जम्ने र त्यसपछि नचल्ने अवस्था सिर्जना हुन सक्ने कम्पनीले जनाएको छ। यस्तो अवस्थामा चालकले सवारीभित्रको ताप प्रणाली सञ्चालन गरेमा पङ्खा नियन्त्रण प्रणालीमा रहेको क्रमिक प्रतिरोधक अत्यधिक तात्न सक्छ। यदि यस्तो अवस्था नियन्त्रणबाहिर पुगेमा आगलागीको जोखिमसमेत उत्पन्न हुन सक्ने कम्पनीको निष्कर्ष छ।

यसै कारण एमजीले विश्वव्यापी रूपमा प्रभावित गाडीहरू फिर्ता बोलाउने अभियान सुरु गरेको हो। कम्पनीका अनुसार यस अभियानअन्तर्गत कुल ९ हजार ८०६ वटा एस५ विद्युतीय गाडी समेटिएका छन्। तीमध्ये जर्मनीमा मात्रै १ हजार ८३० वटा गाडी प्रभावित भएका छन्।

यही जोखिम न्यूनीकरण गर्न एमजीले गाडीको एकीकृत नियन्त्रण प्रणालीमा प्रयोग हुने सफ्टवेयर अद्यावधिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार सुधारिएको सफ्टवेयरले शीतलन पङ्खा नचल्ने अवस्था पहिचान गरी ताप नियन्त्रण प्रणालीलाई सुरक्षित ढङ्गले सञ्चालन गर्नेछजसबाट क्रमिक प्रतिरोधक अत्यधिक तात्ने अवस्था रोकिने विश्वास गरिएको छ।

नेपालमा पनि एमजी एस५ विद्युतीय गाडी आधिकारिक रूपमा बिक्री वितरण भइरहेको छ। एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले यो मोडल नेपाली बजारमा उपलब्ध गराइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*