श्रम शोषण गरेको भन्दै राइडरद्वारा इन्ड्राइभ अफिस घेराउ, एक सातासम्म एप बहिष्कार

काठमाडौँ । राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरूले उचित पारिश्रमिकको माग गर्दै बुधबार ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय घेराउ गरेका छन्। कम्पनीले श्रम शोषण गरेको आरोप लगाउँदै वैज्ञानिक भाडादर निर्धारण गर्न, चालक–राइडरमैत्री नीति लागू गर्न र श्रमिकको अधिकार सुनिश्चित गर्न दबाब दिन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
आन्दोलनमा सहभागी राइडरहरूले अहिलेको भाडादरले दैनिक सञ्चालन खर्चसमेत धान्न कठिन भएको गुनासो गरेका छन्। इन्धन, सवारी मर्मत, बीमा र अन्य खर्च निरन्तर बढ्दै गए पनि इन्ड्राइभमार्फत प्राप्त हुने आम्दानी त्यसअनुसार नबढेकाले आफूहरू आर्थिक रूपमा मारमा परेको उनीहरूको भनाइ छ। कम्पनीले यात्रु र चालकबीचको प्रतिस्पर्धाको नाममा श्रमको उचित मूल्यांकन नगरेको आरोपसमेत उनीहरूले लगाएका छन्।
आन्दोलनको पहिलो चरणअन्तर्गत एक सातासम्म इन्ड्राइभ एप अनइन्स्टल गर्ने निर्णय गरिएको चालकहरूको भनाइ छ। यस अवधिमा एप प्रयोग नगरी कम्पनीमाथि दबाब सिर्जना गर्ने रणनीति बनाइएको उनीहरूले बताएका छन्। साथै वैज्ञानिक भाडादर तत्काल लागू गर्न, श्रम शोषण अन्त्य गर्न र चालक–राइडरका मागप्रति कम्पनी जिम्मेवार बन्नुपर्ने उनीहरूको मुख्य माग छ।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा भइरहेको आन्दोलनलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारीसमेत गरिएको छ। चालकहरूले आफ्नो आन्दोलन कुनै व्यक्ति वा सेवाविरुद्ध नभई श्रमिकको सम्मान, उचित पारिश्रमिक र न्यायपूर्ण कार्य वातावरणका लागि भएको बताएका छन्।











