ग्यास अभावको गुनासो तत्काल सम्बोधन गर्न निगम सक्रिय, क्विक रेस्पोन्स टिम गठन

काठमाडौं । नेपाल आयल निगमले देशभर एलपीजी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टिम गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्ने उद्देश्यले उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिएको हो।
क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका तर्फबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
निगमका अनुसार टिमको मुख्य जिम्मेवारी देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्नु हो। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यासको सहज आपूर्ति सुनिश्चित गरिने जनाइएको छ।
पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको निगमले जनाएको छ। टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ।
उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्।











