गल्यो बहुमत सरकारको दम्भ, खुल्यो पुस्तकालय

काठमाडौं । नयाँ सरकार बनेपछि बहुमतको सरकार भन्दै दभ्मपूर्ण तरिकाले लगाइएको ताला सरकार आफैले खोलेपछि आजदेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुलेको छ । विश्वकै दुर्लभ घटनाको रुपमा बन्द गरिएको पुस्तकालय सरकार आफैलाई सम्भवतः लाज लागेपछि ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खोल्ने निर्णय गरिएको हो ।
नेपाल सरकार मातहत रहेको समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयलाई भाडा नतिरेको भन्दै ताला लगाईदिएको थियो । सो घटनाको चौतर्फी विरोध भएपनि दुई तिहाईको सरकारले कान सुन्ने प्रयत्न गरेको थिएन । सर्वसाधारणलाई निःशुल्क पुस्तक अध्ययन गर्ने थलो सार्वजनिक पुस्तकालयसँग रास्वपाको दुई तिहाई सरकारले भाडा विवाद गरेर तीन करोड रुपैयाँ तिर्नु अन्यथा ताला नखुल्ने भन्दै दम्भ मात्रै देखाएन राणाकालिन व्यवहार देखाएको थियो ।
आजदेखि ताला खुलेको पुस्तकालयमा आजै सरसफाई सुरु भइसकेको छ । औपचारिक रुपमा २५ गतेदेखि मात्रै खुल्ला गर्ने र कसैलाई आपतकालिन अवस्था देखेमा पुस्तक अध्ययन गर्न दिइने सो पुस्तकालयले जनाएको छ ।











