जग्गाधनी पूर्जा बनाइदिने भन्दै घुस लिने चावहिलका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार १ लाख ६० हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो असुल तथा जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पूर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस मागेका थिए। उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त नगद रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा खत्रीले आफ्नो सार्वजनिक पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर ठहर भएकाले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनबमोजिम कैद, बिगो असुल तथा बिगोबमोजिम जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।











