गगन विश्व प्रकाशहरुको राजनीति कुन मोडमा ?

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ । पाँच पटक प्रधानमन्त्री, दुई पटक सभापति र लोकतान्त्रिक आन्दोलनका पुराना योद्धा शेरबहादुर देउबामाथि पार्टीभित्र र पार्टी बाहिर चौतर्फी राजनीतिक आक्रमण चर्किंदै जाँदा सबैभन्दा ठूलो प्रश्न उठेको छ । नेपाली कांग्रेस प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो भनेर विश्वास गर्ने पार्टी हो । तर, पार्टी आफैभित्र प्रजातन्त्र खोज्नुपर्ने अहिलेको अवस्था नेपाली कांग्रेस पार्टी र देशका लागि पक्कै अहितकर नै हुनेछ ।
हो, पार्टी सभापति देउवाका वरपरका मानिसहरु, सही थिएनन्, त्यसो भन्दैमा देउवा अप्रजातान्त्रिक पक्कै होइनन् । यहाँ भन्न खोजिएको कुरा के हो भने प्रजातन्त्रको चीर हरण गर्ने आन्दोलनले देउवामाथि अथाह पीडा दियो अनि पीडा र शोकमा परेका देउवामाथि पार्टीभित्रैबाट जे जे गरियो ति सबै कुराहरु ठीक थिए त ? आज प्रश्न उठेको छ ।
नेतृत्व परिवर्तनको लडाइँ थियो कि पार्टी कब्जाको अभियान ?
नेतृत्वको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो । तर आफ्नै सभापतिको घरमाथि आक्रमण हुँदा, परिवारमाथि दुव्र्यवहार हुँदा र हिंसाको राजनीति देखिँदा पार्टीभित्रका नयाँ पुस्ताका नेताहरूको प्राथमिकता के थियो? हिंसाको विरोध कि शक्ति सन्तुलनको हिसाब ? यो बिषय अत्यन्तै पेचिलो बनेर उभिएको छ । हठात पार्टी कब्जा गर्नु कति उचित थियो ? उतिबेला पार्टीलाई अक्सिजन चाहिएको थियो कि नयाँ नेतृत्व । हतार हतार जे जे गरियो त्यसले वैधानिक बाटोबाट नेतृत्व परिवर्तन भन्दा पनि कब्जा गर्ने मनसाय उद्यत रहेको छैन भनेर कसेले पनि किटान गर्न सकेको अवस्था छैन ।
सर्वोच्च अदालतले कांग्रेस पार्टीको विवाद सम्बन्धी मुद्दा पुनरावलोकनको बाटो खोलिदिएपछि राजनीति फेरि नयाँ मोडमा पुगेको छ । हिजोसम्म सबै कुरा सकियो भन्दै राजनीतिक विजयको घोषणा गरिरहेकाहरू अब के भन्छन ?
गगन र विश्वप्रकाशले आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । के उनीहरु साच्चै परिवर्तनकारी नै हुन् त ? अब उनीहरूका अगाडि वास्तविक परीक्षा सुरु भएको छ । के उनीहरू पार्टीभित्र सहमति, विधि र संस्थागत प्रक्रियाको बाटो रोज्छन्, कि आन्तरिक ध्रुवीकरणलाई अझ गहिरो बनाउने राजनीति गर्छन ? यही प्रश्नले उनीहरूको नेतृत्वको मूल्यांकन गर्नेछ ।
देउबाको राजनीतिक यात्रा समाप्त भयो भनेर घोषणा गरियो। तर नारा र भिडले मात्र विस्थापित गर्न सकिँदैन । यसको लागि वैधानिक बाटो आवश्यक पर्दछ । अहिले यही बैधानिक बाटोको रुपमा सर्वोच्चको आदेशको प्रतिक्षा गनुपर्दछ ।
नेतृत्व परिवर्तनको अधिकार विधि, विधान र कार्यकर्ताको मतबाट हुनुपर्छ कुनै समूहको राजनीतिक दबाबबाट होइन । कांग्रेसका कार्यकर्ताले अब निर्णय गर्नुपर्ने बेला आएको छ । उनीहरू व्यक्तिको पछि लाग्ने कि पार्टीको संस्थागत संस्कृतिको पक्षमा उभिने ?
आज आफ्नै सभापतिको अधिकार र सम्मानको रक्षा गर्न पार्टी असफल हुन्छ भने, भोलि त्यही संस्कृतिले अर्को नेतालाई पनि उस्तै व्यवहार गर्नेछ । राजनीतिमा जीत केवल पद जित्नु होइन, नैतिक उचाइ कायम राख्नु पनि हो । कांग्रेसले अब यही प्रश्नको उत्तर दिनुपर्छ ।
(लेखक सञ्चार समुह नेपालका संस्थापक अध्यक्ष हुन् ।)











