एआईदेखि डिजिटल पेमेन्टसम्मका नवीन प्रविधि एकै थलोमा, फिनटेक एक्स्पो २०२६ असोजमा

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (एफएएन) ले नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने भएको छ। एक्स्पोको दोस्रो संस्करण आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुने आयोजकले जनाएको छ।
पहिलो संस्करणको सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पोलाई थप भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित सञ्चालन गर्ने तयारी गरिएको छ। पहिलो संस्करण दुई दिनसम्म सञ्चालन भएकोमा यसपटक एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ।
आयोजकका अनुसार एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल तथा दुईवटा एक्सपेरियन्स जोन रहनेछन्। स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागितामा कृत्रिम बौद्धिकता (एआई), डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजीलगायत अत्याधुनिक फिनटेक प्रविधि तथा समाधानहरू प्रदर्शन गरिनेछन्।
यस्तै, विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाको औपचारिक सार्वजनिक (अफिसियल प्रोडक्ट लन्च) तथा प्रोडक्ट रिभिलसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
एक्स्पोको उद्घाटन समारोह पहिलो दिन अर्थात् अक्टोबर ९ मा हेरिटेज गार्डेन परिसरमा रहेको क्लासिक भेन्युमा आयोजना गरिनेछ। सहभागी तथा विशिष्ट अतिथिको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा र ठूलो संख्यामा सहभागी हुने अपेक्षालाई ध्यानमा राख्दै उद्घाटनका लागि उक्त स्थान छनोट गरिएको आयोजकको भनाइ छ।
यस वर्षको एक्स्पोमा ६ हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, विकास साझेदार, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।
फिनटेक एलायन्स नेपालमा हाल ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन्। संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा ‘फिनटेक फ्राइडे’ र ‘फिनटेक सोसल’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, ‘सीटीओ रिट्रिट’ जस्ता कार्यक्रममार्फत प्रविधि क्षेत्रका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान–प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको संस्थाले जनाएको छ।
आयोजकले नेपाल फिनटेक एक्स्पो २०२६ का लागि विभिन्न स्पोन्सरसिप अवसरसमेत खुला गरिएको जानकारी दिएको छ।











