मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी १० रुपैयाँ नाघ्यो

२४ श्रावण २०८३, आईतवार ०८:३२

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफा र प्रतिशेयर आम्दानीमा आकर्षक सुधार गर्न सफल भएको देखिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ८२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ६६ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

हाइड्रोपावरको मुख्य आम्दानीको स्रोत मानिने विद्युत बिक्रीमा पनि वृद्धि देखिएको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ३९ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३८ करोड ८६ लाख ३२ हजार रुपैयाँ रहेको थियो । विद्युत बिक्री दरमा भएको बढोत्तरीका कारण आम्दानीमा सकारात्मक प्रभाव परेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि राम्रो सुधार आएको छ । अघिल्लो वर्ष ६ रुपैयाँ १४ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर १० रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६२ पैसा कायम भएको छ जुन अघिल्लो वर्ष १०४ रुपैयाँ ३२ पैसा थियो ।

कम्पनीले आफ्नो दीर्घकालीन ऋणमा पनि केही कटौती गरेको छ । अघिल्लो वर्ष १ अर्ब ९३ करोड रुपैयाँ रहेको दीर्घकालीन ऋण घटेर १ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ । ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*