काठमाडौंमा श्रृंखलाबद्ध चोरी गर्दै हिंड्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित विभिन्न घरबाट सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी गरेको आरोपमा प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–८ बालुवाखानी बस्ने धनुषा घर भएका ३८ वर्षीय घनश्याम क्रामछाकी, बूढानीलकण्ठ नगरपालिका–१३ भंगाल बस्ने तनहुँ घर भएका २४ वर्षीय अन्जान दाश र काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने २८ वर्षीय सजिर श्रेष्ठ रहेका छन् ।
बूढानीलकण्ठ नगरपालिका–९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका–१२ राधाकृष्ण मन्दिरस्थित घरबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल शृङखलाबद्ध रूपमा चोरी भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।











