गुनासो बढेपछि मोबाइल सेवा सुधार्न टेलिकम र एनसेललाई प्राधिकरणको निर्देशन

काठमाडौँ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकम र एनसेलसहितका सेवाप्रदायकलाई निर्देशन दिएको छ । मोबाइल सेवाको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो बढेपछि प्राधिकरणले सेवा सुधारका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम आठबुँदे निर्देशन जारी गरेको हो ।
प्राधिकरणले गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्र पहिचान गरी प्राथमिकताका साथ नेटवर्क विस्तार गर्न, फोरजी सेवाको पहुँच र गुणस्तर बढाउन तथा औद्योगिक र प्रमुख सहरी क्षेत्रमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गर्न भनेको छ । प्रमुख सहरमा फाइभजी सेवा प्रारम्भका लागि चरणबद्ध योजना तयार गरी प्राधिकरणसमक्ष पेस गर्नसमेत निर्देशन दिइएको छ ।
सेवाको गुणस्तर (क्युओएस), नेटवर्कको विश्वसनीयता र ग्राहक सेवा अनुभवमा सुधार गर्न तथा प्राधिकरणले तोकेको मापदण्ड पूरा भए–नभएको सम्बन्धी प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न सेवाप्रदायकलाई भनिएको छ । उपभोक्ता सेवामा सुधार ल्याउन ग्राहक सहायता प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने प्राधिकरणको निर्देशन छ ।
सेवाप्रदायकले उपभोक्ता बडापत्र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, २४सै घण्टा गुनासो सुनुवाइका लागि कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने र नियमित रूपमा ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गरी त्यसका आधारमा सुधारात्मक कदम चाल्नुपर्ने उल्लेख छ ।
प्राधिकरणले रेडियो फ्रिक्वेन्सीजस्तो सीमित राष्ट्रिय स्रोतको अधिकतम उपयोगमा समेत जोड दिएको छ । वितरण गरिएको फ्रिक्वेन्सीको प्रभावकारी प्रयोग गर्न तथा दूरसञ्चार पूर्वाधारको साझा प्रयोगमार्फत दोहोरो लगानी घटाई लागत कम गर्न र सेवा विस्तार सहज बनाउन निर्देशन दिइएको छ ।
प्राधिकरणबाट अनुदान प्राप्त परियोजनामा स्पष्ट कार्यतालिका, प्रगतिका सूचक र समयसीमा निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्न तथा नियमित प्रगति प्रतिवेदन बुझाउनसमेत भनिएको छ । बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै साइबर सुरक्षा, नेटवर्क सुरक्षा, विपद् व्यवस्थापन (डिजास्टर रिकभरी) तथा व्यवसाय निरन्तरता योजना तयार गरी लागू गर्न सेवाप्रदायकलाई निर्देशन दिइएको छ ।











