दोलालघाटबाट बेपत्ता तिलकुमारीको शव सुनकोशीमा फेला, श्रीमान् अझै बेपत्ता

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझदेखि हराइरहेकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुली मृत अवस्थामा फेला परेकी छन्।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ स्थित सुनकोशी नदी किनारमा उनको शव भेटिएको हो। परिवारसँग गरिएको पहिचान प्रक्रियापछि शव तिलकुमारीकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव भेटिएपछि परिवारका सदस्यलाई तस्बिर पठाएर पहिचान गर्न लगाइएको थियो। शरीरमा रहेको केही चिनारीका आधारमा परिवारले शव तिलकुमारीको भएको पुष्टि गरेका हुन्।
तिलकुमारी आफ्ना श्रीमान् केदारनाथ पराजुलीसँगै दोलालघाट क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएकी थिइन्। त्यसयता उनीहरूको अवस्था पत्ता लगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गरिरहेका थिए।
तिलकुमारीको शव फेला परे पनि उनका श्रीमान् केदारनाथको अवस्था अझै थाहा हुन सकेको छैन। प्रहरीले सुनकोशी नदी आसपासका क्षेत्रसहित सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिएको छ।
तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित रहेको परिवारले जनाएको छ। उनीहरुले उपचार सम्भव नभएका कारण नदिमा हाम फालेको हुन सक्ने अनुमान गरिएको छ ।











