ग्यास अभावको हल्लाबीच उद्योग संघको आग्रह- ‘सिलिन्डर थुपारेर नराखौं’

२४ श्रावण २०८३, आईतवार १८:०२

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात बढिरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको तथा उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले अनावश्यक रूपमा ग्यास खरिद नगर्न संघले उपभोक्तालाई आग्रह गरेको हो।

संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे अहिले देखिएको ग्यास अभावको समस्या तत्काल समाधान हुने उल्लेख छ। आगामी दिनमा समेत ग्यास आपूर्तिमा समस्या नहुने भएकाले अभाव देखिने सम्भावना नरहेको संघले जनाएको छ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ। निगमका अनुसार पछिल्लो समय ग्यास आयात करिब १५ प्रतिशतले वृद्धि भएको छ।

पछिल्लो २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। यही आधारमा चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।

बजारको मागअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको संघले जनाएको छ। संघले घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेताहरूलाई समेत आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*