नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै निसानको प्रिमियम एसयूभी ‘टेकटन’

२४ श्रावण २०८३, आईतवार १८:३४

काठमाडौं । निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट ११ अर्थात् भदौ २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटनको नेपालमा पहिलो सार्वजनिक प्रदर्शन गर्न लागेको हो।

‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा तयार पारिएको टेकटनलाई निसानले आफ्नो एसयूभी यात्राको नयाँ पुस्ताका रूपमा प्रस्तुत गरेको छ। गत जुलाई ९ मा भारतको मुम्बईमा विश्वव्यापी रूपमा सार्वजनिक गरिएको यो मोडल दक्षिण एसियाली बजारलाई लक्षित गर्दै अघि बढाइएको कम्पनीको भनाइ छ। निसानको ७५ वर्ष लामो एसयूभी विरासतबाट प्रेरित टेकटनलाई आधुनिक डिजाइन र प्रविधिको संयोजनका रूपमा विकास गरिएको बताइएको छ।

निसानको फ्ल्यागशिप एसयूभी ‘पेट्रोल’बाट प्रेरित डिजाइनमा तयार गरिएको टेकटनमा मस्कुलर बडी, स्पष्ट बडी लाइन, अपराइट स्टान्स तथा सी–सेप्ड एलईडी लाइटिङ राखिएको छ। अगाडिको भागमा दिइएको होरिजोन्टल डिजाइन एलिमेन्टले एसयूभीलाई फरक पहिचान दिने कम्पनीको दाबी छ। सहरी सडकदेखि पहाडी तथा लामो दूरीका राजमार्गसम्म उपयुक्त हुने गरी यसको बाहिरी डिजाइन तयार गरिएको जनाइएको छ।

टेकटनको केबिनमा ‘टेक–लिंक’ एचडी इन्फोटेनमेन्ट सिस्टम दिइएको छ। वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्टका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यु क्यामेरा र ई–सिफ्टरजस्ता सुविधा यसमा समावेश छन्। प्रिमियम इन्टेरियर फिनिसले यात्रुका लागि थप आरामदायी वातावरण सिर्जना गर्ने कम्पनीको भनाइ छ।

एसयूभीमा अधिकतम ७०० लिटरसम्मको बुट स्पेस उपलब्ध रहेको बताइएको छ। सुरक्षातर्फ ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट तथा ब्लाइन्ड स्पट वार्निङजस्ता सुविधा राखिएका छन्। यी प्रविधिले चालकलाई विभिन्न परिस्थितिमा सुरक्षित र सहज ड्राइभिङमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

पावरट्रेनतर्फ टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसको शक्तिशाली भेरियन्टले अधिकतम १६३ पीएस पावर तथा २८० एनएम टर्क उत्पादन गर्नेछ। टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन र ई–सिफ्टर दिइएको छ। यसले गियर परिवर्तनलाई सहज बनाउनुका साथै ड्राइभिङ नियन्त्रणमा सुधार ल्याउने कम्पनीको दाबी छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सहभागीले निसान टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। साथै, एसयूभीमा प्रयोग भएका प्रविधि, सुविधा र डिजाइनबारे निसानका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन तथा अन्तरक्रिया गर्न सकिनेछ।

अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा सञ्चालन हुने ६ दिने एक्स्पोमा पायोनियर मोटो कर्प र निसानको स्टलमा टेकटनलाई प्रमुख आकर्षणका रूपमा राखिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*