काठमाडौं उपत्यकामा आज विभिन्न २३ थरी कार्यक्रम, अनसनदेखि आन्दोलनसम्म

काठमाडौं । काठमाडौं उपत्यकामा आज साउन २५ गते विभिन्न २३ थरी राजनीतिक, सामाजिक तथा पेशागत संघसंस्थाका कार्यक्रम हुँदैछन् । यस दिन आन्दोलन, धर्ना, प्रदर्शन, सभा तथा सम्मेलनदेखि संघीय संसद्का बैठकसम्मका कार्यक्रम तय भएका हुन् ।
शाही युवा शक्ति नेपालले पूर्वराजाको तेस्रोपटक गद्दी आरोहणको माग गर्दै बिहान ८ बजेदेखि देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । अभियान काठमाडौंका माइतीघर मण्डला, बागबजार, भूगोलपार्क, बुद्धनगर र नयाँ बानेश्वरलगायतका स्थानमा हुनेछ । त्यस्तै बौद्ध तिनचुलीस्थित इन्टरनेसनल बुद्धिस्ट एकेडेमीले बिहान ९ बजेदेखि विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीका लागि भदौ ३ गतेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सिंहदरबारमा आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । यता स्वतन्त्र चालक फाउन्डेसन नेपालले राइडरको उचित हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै बिहान १० बजे माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । त्यस्तै प्रजातान्त्रिक पार्टी नेपालले पशुपतिनाथप्रतिको आस्था सबै नेपालीको साझा आस्था भएको भन्दै बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित महादेवस्थान परिसरबाट बोलबम यात्रा निकाल्ने भएको छ ।
नेपाली कांग्रेस राष्ट्रिय भेलाको तयारीका लागि काठमाडौं उपत्यकामा रहेका सुदूरपश्चिमका नेपाल विद्यार्थी संघका युवा विद्यार्थी अगुवाको बृहत् भेला बिहान १०ः३० बजे तिनकुनेस्थित रोयल ब्याङ्केटमा हुनेछ । नेपाली कांग्रेस, सिन्धु काठमाडौं सम्पर्क समितिले पनि दिउँसो १२ः३० बजे सोही स्थानमा युवा भेला आयोजना गर्नेछ । त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघले बिहान १०ः३० बजे राष्ट्रिय सभागृहमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । तिलगंगा क्षेत्रको बस्ती हटाइएको विषयमा स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषले गरेको सम्झौताविपरीत घर हटाइएको भन्दै बिहान ११ बजे पशुपति क्षेत्र विकास कोषको कार्यालय, गौशालाको मुख्य गेटमा धर्ना दिने भएका छन् । सोही समयमा सुकुम्बासी मोर्चा केन्द्रको बैठक धुम्बाराहीस्थित नेपाल शिक्षक संघको केन्द्रीय कार्यालयमा बस्नेछ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकको केन्द्रीय संघर्ष समितिले विभिन्न माग राख्दै बिहान ११ बजे सानोठिमीस्थित परिषद्को केन्द्रीय कार्यालय घेराउ गर्ने कार्यक्रम राखेको छ भने नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै दिउँसो १२ बजे मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म साउन पैदल यात्रा गर्ने भएको छ । यता लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले दिउँसो १२ः३० बजे थापाथली राम मन्दिरदेखि शान्तिबाटिकासम्म उपत्यका मार्च गर्ने भएको छ ।
त्यस्तै आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सार्वजनिक सडकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले जनताको मौलिक हक, निजी सम्पत्तिको सुरक्षा, स्थानीय समुदायको अस्तित्व तथा सांस्कृतिक सम्पदा संरक्षणमा असर पार्न सक्ने भन्दै विरोधमा दिउँसो २ः३० बजे अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको पेन्सन व्यवस्थापनको माग गर्दै दिउँसो ३ बजे विश्वविद्यालयको रजिस्ट्रार कार्यालयको मुख्य गेट, कीर्तिपुरमा धर्ना दिइने भएको छ । त्यस्तै जातीय छुवाछुतविरुद्धको अभियानले घर बहालमा जातका आधारमा हुने भेदभावको विरोधमा दिउँसो ३ बजे माइतीघर मण्डलामा ब्यानर तथा प्लेकार्ड प्रदर्शन गर्ने भएको छ । नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा पार्टीको ५ नम्बर ब्युरो इन्चार्ज तिलकको गिरफ्तारीको विरोधमा देशभर कोणसभा गर्ने कार्यक्रम पनि रहेको छ । यसैबीच राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुनसरीमा भएको घटनाको विरोधमा साउन १४ गतेदेखि माइतीघर मण्डलामा सुरु गरेको आमरण अनशन आज पनि जारी रहनेछ ।











