बहुराष्ट्रिय कम्पनीलाई अर्थमन्त्री वाग्लेले भने, ‘लगानी बढाउनुहोस्, सरकार साथमा छ’

२५ श्रावण २०८३, सोमबार १४:१५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका हुन् ।

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्र निर्माणमा उनीहरूले पुर्‍याएको योगदानप्रति सरकारका तर्फबाट सम्मान व्यक्त गर्दै भने, “तपाईंहरू केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि मात्र होइन, नेपालका सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारदाता, सबैभन्दा ठूलो लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार हुनुहुन्छ।”

आजको भेट औपचारिक भेटघाटमा सीमित नभई सरकार र निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य तथा प्रतिबद्धता निर्माण गर्ने अवसर भएको उनको भनाइ थियो। “आजको बैठक औपचारिक भेटघाटका लागि होइन। यो सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास, सहकार्य र प्रतिबद्धता हो,” उनले भने।

अर्थमन्त्री वाग्लेले पछिल्ला दिनमा उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग भएका लामो छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार वा कुनै एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने साझा निष्कर्षमा पुगेको बताए। “नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ,” उनले भने।

त्यसैले आफू सरकारको धारणा सुनाउनभन्दा बढी देशमा सबैभन्दा ठूलो लगानी गरेका र ठूलो जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको उनले स्पष्ट पारे। “आज म यहाँ सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र सबैभन्दा बढी जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको छु,” उनले भने।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट गरिसकेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारको दृष्टिले हेर्ने बताए। “हामी विश्वास गर्छौँ कि निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो,” उनले भने।

सरकारको प्राथमिकता अब केवल कर संकलन बढाउने नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ थियो। “जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ। आम्दानीले बजार विस्तार गर्छ। अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ,” उनले भने।

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध शून्य–योग सम्बन्ध नभएको उल्लेख गर्दै उनले दुवै पक्षको सफलता एकअर्कासँग जोडिएको बताए। “सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन; दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ,” उनले भने।

नेपालमा लगानीकर्ताको विश्वास कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षालाई प्राथमिकतामा राखिने स्पष्ट पारे। “नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो,” उनले भने।

सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयबारे पनि लगानीकर्ताको धारणा माग्दै उनले छलफललाई सुझाव संकलनमा मात्र सीमित नगर्ने बताए। “आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,” उनले भने।

छलफलमा उठाइएका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने र अर्थ मन्त्रालयले Response Desk मार्फत त्यसको निरन्तर अनुगमन गर्ने उनले जानकारी दिए। “यहाँ उठेका प्रत्येक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुनेछ। अर्थ मन्त्रालयले यसका लागि Response Desk मार्फत निरन्तर अनुगमन गर्नेछ,” उनले भने।

यो संवाद एकपटकको कार्यक्रम नभई समस्या समाधान नभएसम्म निरन्तर चल्ने पनि अर्थमन्त्री वाग्लेले बताए। सरकार र निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्यबाट लगानीकर्ताका समस्या समाधान गर्दै जाने उनको प्रतिबद्धता थियो।

करदाताप्रतिको राज्यको दृष्टिकोणमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले इमानदारीपूर्वक कर तिर्ने व्यवसायीलाई केवल राजस्वको स्रोतका रूपमा नहेरी राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गरिने बताए। “सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,” उनले भने।

“हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्,” अर्थमन्त्री वाग्लेले भने।

यही विश्वासका आधारमा नेपाललाई लगानीमैत्री, व्यवसायमैत्री र उत्पादनमुखी अर्थतन्त्र बनाउने अभियानमा सरकार अघि बढेको उनले बताए। सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ गर्दै आगामी दशकलाई ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउने लक्ष्यसहित अघि बढ्न उनले आह्वान गरे। “आउनुहोस्, सरकार र निजी क्षेत्रबीचको यो साझेदारीलाई अझ सुदृढ बनाऔँ। आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाऔँ,” उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*