१४ कम्पनीको जीवन बीमाकोष ९ खर्ब ४२ अर्ब नाघ्योः बीमा बजारमा पुराना कम्पनी बलिया, नयाँ झन् आक्रामक

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा समग्र बीमा कोष १६.७६ प्रतिशतले वृद्धि भई ९ खर्ब ४२ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो कोष ८ खर्ब ७ अर्ब ३५ करोड ५४ लाख रुपैयाँमा सीमित थियो।
बीमा बजारमा आफ्नो वर्चस्व कायम राख्दै नेपाल लाइफ इन्स्योरेन्सले यस वर्ष पनि सबैभन्दा ठूलो कोष बनाउन सफल भएको छ। नेपाल लाइफको कोष १७.०४ प्रतिशतले बढेर २ खर्ब ७३ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ पुगेको छ जुन समग्र बजारको करिब २९ प्रतिशत हिस्सा हो। कोषको आकारका आधारमा एलआईसी नेपाल १ खर्ब ४६ अर्ब ८१ करोड ४३ लाख रुपैयाँसहित दोस्रो र नेशनल लाइफ इन्स्योरेन्स १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन्। यी तीन कम्पनीहरूले मात्रै कुल बीमा कोषको ठूलो हिस्सा ओगटेका छन्।

कोषको आकारसँगै प्रतिशतका आधारमा हेर्ने हो भने नयाँ जीवन बीमा कम्पनीहरूको आक्रामक बजार विस्तार देखिएको छ। सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आइएमई लाइफ रहेको छ जसको कोष ३९.४० प्रतिशतले बढेर १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सिटिजन लाइफले ३६.१२ प्रतिशतको लोभलाग्दो प्रगति गर्दै २७ अर्ब २ करोड ६६ लाख रुपैयाँको कोष खडा गरेको छ। प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा रिलायन्स लाइफले पनि ३० प्रतिशतभन्दा बढीको वृद्धिदर कायम गर्दै बजारमा आफ्नो बलियो उपस्थिति दर्शाएका छन्।
अन्य कम्पनीहरूको जीवन बीमाकोष पनि सन्तोषजनक नै देखिएको छ। हिमालयन लाइफले १६.२१ प्रतिशतको वृद्धिसहित ८९ अर्ब ४१ करोड ५० लाखको कोष बनाएको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको कोष ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यसैगरी सूर्यज्योति लाइफ, एशियन लाइफ र मेट लाइफले पनि दोहोरो अंकको वृद्धि हासिल गर्न सफल भएका छन्।












