सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता तथा व्यवस्थापक सम्मानित

६ भाद्र २०८३, शनिबार १९:१४

बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी विकास व्यवस्थापकहरूलाई सम्मान गरेको छ।

कम्पनीको आयोजनामा शनिबार बर्दिबास रिसोर्टमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय व्यवस्थापक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको आर्थिक वर्ष २०८३/८४ को बिक्री नीति तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गर्नुभयो।

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो। उहाँले अभिकर्ताको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताउनुभयो। उहाँले कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एजेन्सी विकास व्यवस्थापक तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने बताउनुभयो। साथै उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक तथा ‘इमर्जिङ सन क्लब’का लागि योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर एक सय पचासभन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*