आफूले गरेको अपराधको दोष कर्मचारीलाई दिएर पन्छने प्रयासमा सूर्यप्रसाद सिलवाल (बयान सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा कर्मचारीहरुलाई दवाव, तनाव, धम्की दिएर गराएको अपराध उनै दवावमा काम गर्न बाध्य कर्मचारीहरुको टाउकोमा थोपरेर आफू उम्किने प्रयास गरेका छन । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौं दर्ता भएको अभियोग पत्रमा उल्लेखित बयानमा तत्कालिन अध्यक्ष सिलवालले आफूले कुनै अनैतिक र कानुन विपरितको काम नगरेको र कर्मचारीहरुले कानुन बमोजिम पेश गरेको राय सुझाव सहितको प्रतिवेदनका आधारमा अनुमित दिने कामसम्म गरेको भनेर उम्किने प्रयास गरेका छन् ।
यथार्थ सिलवालको दावी के होला भन्ने तथ्य मुद्दा फैसलापछि नै थाहा हुनेछ । तर, हिजोका दिनमा कर्मचारीहरुलाई जसरी सबै कामको जिम्मा मै लिन्छु, तपाईहरु ढुक्कले काम गर्नुस् भनेर काममा लगाए तर आज मुद्दा परेको बखत पानीमाथिको ओभानो हुन खाजिरहेका छन् । अनि कर्मचारीहरुलाई दोष देखाएर उम्किन खोजिरहेको बयानबाट देखिन आएको छ ।
यसबाट बीमा प्राधिकरण वा अन्य जुनसुकै निकायका कर्मचारीहरुले अबका दिनमा जतिसुकै पावरफूल अध्यक्ष वा कार्यकारी वा मन्त्रालयका सचिव, मन्त्री वा प्रधानमन्त्री नै भएपनि नियम विपरितका कुनै पनि काम गर्दा, टिप्पणी उठाउँदा उनीहरुले एक दिन कर्मचारीलाई दोष दिएर पन्छिन खोज्छन् भन्ने तथ्य स्थापित हुन आएको छ ।
पढौं सुर्य प्रसाद सिलवालको बयानः
नेपालमा रि इन्स्योरेन्स ब्रोकरहरु नभएको र रि इन्स्योरेन्सको व्यवसाय ब्रोकरहरुमा निर्भर रहने भएकाले नेपाली रि इन्स्योरेन्स ब्रोकरहरुलाई इजाजत दिनुपर्ने कुरामा प्राधिकरण नीतिगत रुपमा सहमत भएपछि तदनुरुपका निर्देशिकाहरु जारी भए । माग भए जति सबैलाई एकनासले इजाजत दिन प्राधिकरण सहमत भएको व्यहोरा जानकारी गराउँदछु । इजाजतपत्र दिनु अघि फिट एण्ड प्रपर टेष्ट अनिवार्य रुपमा रुपमा गरिन्छ । सोका लागि सम्बन्धित शाखाले सम्पूर्ण विवरण भिडाई तह, तह हुँदै इजाजत पत्र दिनको लागि पेश भएपछि निर्णय हुने हुन्छ । प्रस्तुत विषयमा इजाजत पत्र प्राप्त कर्ताको बैंक स्टेटमेन्ट र सम्बन्धित विवरण आवश्यक हुन्छ । यी सबै क्अचभभलष्लन हरु सम्बन्धित शाखाबाट सम्पन्न हुन्छ । तदनुरुपको काम सम्पन्न भई पेश भएपछि निर्णय हुन्छ ।
यीनै चरणहरु पार गरी पेश भएपछि अन्तिम निर्णय भएको हो । कम्पनी दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयमा भएपछि मात्र कम्पनीको नाममा इजाजतपत्र जारी हुन्छ । यसर्थ यसमा इजाजतको लागि आवश्यक रकम प्राप्त भएको हेरेर शाखाबाट तहतह हुँदै निर्णयमा पुगेको हुँदा अन्यथा केही गरेको छैन । शाखाले यस सम्बन्धमा विस्तृत भन्न सक्छ । प्राधिकरणको कानुन शाखाबाट सम्पूर्ण कागजातहरु हेरी भिडान गर्ने कार्य अगाडी बढेको तथ्य श्रीमानमा अवगत गराउँदछु । यसमा अन्यथा केही भएको छैन । दिपक भट्ट र अन्जना नेपाल बीचको सम्बन्धका बारेमा कुनै जानकारी थिएन ।
माथि सवाल नं. १ मा उल्लेख भएको नेपालमा नेपाली रि इन्स्योरेन्स ब्रोकर नभई धेरै व्यवसाय विदेशिने अवस्था रहेकोमा नेपाल भित्रै नेपाली ब्रोकरहरु स्थापना गरी प्राप्त हुने कमिसन नेपालमै राख्ने उद्देश्यले इच्छुक सबैलाई इजाजत दिईएको हो । प्राधिकरणबाट तहगत रुपमा पेश भएका राय सहितको विषयमा निर्णय लिएको हो । यसमा मैले कसैलाई कुनै सहयोग गरेको छैन । ईच्छुक सबैलाई इजाजत दिईएको हो । यसमा कुनै खराब नियत राखी कोहीका लागि अनियमित विधिको प्रयोग गरेको छैन ।
मैले त प्राधिकरणको विभिन्न पदाधिकारीबाट पेश भएको रायलाई स्वीकृत सम्म गरेको हुँ । गैरकानुनी कुनै कार्य गरेको छैन । सम्पत्ति शुद्धीकरण जस्तो गम्भिर विषयमा मबाट कुनै गलत काम र सहयोग भएको छैन । इजाजतपत्र दिने प्रकृयाको सम्बन्धमा मैले माथि सवाल नं. ७ मा नै उल्लेख गरेको छु । प्राधिकरणको बोर्डले ब्रोकिङ कम्पनी सम्बन्धी निर्णय र निर्देशिका नै जारी गरेकोछ । सो निर्देशिकामा सम्पूर्ण विधि र प्रक्रिया सम्बन्धमा निर्णय भई निर्देशिका जारी भइसकेको परिप्रेक्ष्यमा सोही निर्देशिका अनुसार इच्छुक सबै ब्रोकिङ कम्पनीलाई इजाजतपत्र दिन स्वीकृत दिएको हुँ । यसमा कसैलाई दिने नदिने भन्ने अवस्था नै नरहेको हुँदा विधि सम्मत (निर्देशिकाले तोके बमोजिम) रुपमा इजाजतपत्र दिन स्वीकृत दिएको व्यहोरा अनुरोध गर्दछु । यसरी इजाजतपत्र दिए पश्चातको बोर्ड बैठकमा मौखिक जानकारी गराइने गरेको व्यहोरा अनुरोध गर्दछु । इजाजतपत्र मात्र दिने विषय प्रशासनिक विषय भएको र बोर्डद्वारा जारी निर्देशिका अनुरुप काम भएको हुँदा तहगत रुपमा पेश हुन आए बमोजिम गरेको हुँ भन्ने समेतका व्यहोराको बयान ।
(प्रस्तुत सन्दर्भ “नेपाल बीमा प्राधिकरणको प्रतिवेदनले नेपाल सरकार वादी विपक्षी आयुषमा नेपाल भट्ट समेत भएको बीमा सम्बन्धी कसूर अभियोग पाना ७५ मध्येको पाना २१” मा उल्लेख सुर्य सिलवालको बयानबाट लिइएको हो ।)













