मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपक कुमार मलहोत्राको नेतृत्वमा नयाँ कार्यसमिति

२२ आश्विन २०८३, बिहीबार १७:४९

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले  दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

साधारण सभाको प्रारम्भमा अध्यक्ष मलहोत्राले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए । त्यसपछि उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरे ।

सभामा सदस्यहरुले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा एशोसिएसनको आगामी कार्यदिशाका सम्बन्धमा आफ्ना धारणा, सुझाव तथा विचारहरु प्रस्तुत गरेका थिए ।

साधारण सभापछि सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन् । त्यसैगरी, सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष मलहोत्राले एशोसिएसनलाई सर्वसम्मत रुपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुप्रति आभार व्यक्त गरे । उनले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याहरुको समाधानका लागि सम्बन्धित सरकारी निकाय र सरोकारवाला पक्षहरुसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताए । उनले अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण तथा MDMS को प्रभावकारी प्रवर्द्धन, छाता संगठनहरुसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हितको प्रवर्द्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन्।

उनले व्यवसाय क्षेत्रका चुनौतीहरु समाधान गर्न निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*