कर्जा दुरुपयोग आरोप लागेका प्रभु बैंकका म्यानेजर जोशीलाई धरौटीमा छाड्न आदेश
९ भाद्र २०८३, मंगलवार १८:३५

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र स्वीकृति पराजुलीको इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा प्रवाहमा कैफियत देखिएको प्रारम्भिक अनुसन्धानका आधारमा एक साताअघि जोशीलाई प्रभु बैंकको कार्यालयबाटै पक्राउ गरेको थियो ।
एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा जोशी पक्राउ परेका थिए । कर्जा प्रवाहका क्रममा बैंकिङ प्रक्रियामा कैफियत भएको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।









