रसुवामा बाढी, नेप्सेमा पहिरोः हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा भारी गिरावट

काठमाडौँ । निरन्तर सुस्त गतिमा रहेको नेपालको शेयर बजारमा बुधबार तिब्बततर्फबाट आएको अचानकको बाढीले थप दबाब सिर्जना गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो । विशेषगरी रसुवा र आसपासका क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेको खबरले जलविद्युत् कम्पनीका लगानीकर्तामा थप त्रास बढाएको छ । त्यसको प्रत्यक्ष प्रभाव बुधबारको कारोबारमा देखिँदा समग्र बजार परिसूचक राताम्य बनेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजना र निर्माणाधीन पाँच वटा आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन र निर्माण कार्य प्रभावित हुन सक्ने आकलन गरिएको छ । यसले आयोजनाको सञ्चालन अवधि, मर्मतसम्भार खर्च तथा आम्दानीमा समेत असर पर्न सक्ने आशंका लगानीकर्तामा देखिएको छ । यही कारण बुधबार जलविद्युत् कम्पनीका शेयरमा बिक्री चाप उच्च देखिएको हो ।
बाढीबाट भौतिक संरचनामा भएको क्षतिसँगै निर्जीवन बीमा कम्पनीहरूमाथि पनि ठूलो वित्तीय भार पर्न सक्ने अनुमान गरिएको छ । बाढीले आयोजना, सवारीसाधन, घर तथा अन्य सम्पत्तिमा क्षति पुर्याएकाले आगामी दिनमा बीमा दाबीको संख्या र रकम उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ । दाबी भुक्तानी बढ्दा निर्जीवन बीमा कम्पनीको नाफा तथा वित्तीय सूचकमा दबाब पर्न सक्ने आशंकाले यस क्षेत्रका शेयरमा पनि लगानीकर्ता आकर्षित हुन सकेनन् । परिणामस्वरूप बुधबार जलविद्युत् र निर्जीवन बीमा उपसूचकमा उल्लेख्य गिरावट देखिएको छ ।
पछिल्लो समय निरन्तर दबाबमा रहेको शेयर बजारका लागि बाढीको प्राकृतिक विपत्तिले थप चुनौती थपेको छ । बजारमा पहिले नै कारोबार सुस्त हुनु, लगानीकर्ताको जोखिम लिन सक्ने क्षमता कमजोर हुनु तथा नकारात्मक मनोविज्ञान हावी भइरहेका बेला जलविद्युत् आयोजनामा भएको क्षति र बीमा दाबी बढ्ने सम्भावनाले बजारलाई थप प्रभावित गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९२ अकंले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच हु्ँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज निर्जीवन बीमा कम्पनीको शेयर मूल्य ३.९० प्रतिशत, जलविद्युत समूहको २.८४ प्रतिशतले शेयर मूल्य घटेको छ । सबै सूचक राताम्य भएका हुन् ।
बुधबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।










