घट्दो क्रममा वाणिज्य बैंकको आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर निरन्तर घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको तथा आर्थिक गतिविधिमा शिथिलता आउँदा कर्जाको माग न्यून रहेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आधार दरसमेत कम गर्न थालेका हुन् । भदौ महिनामा २० वटै वाणिज्य बैंकको आधार दर साउनको तुलनामा घटेको छ ।
साउनमा ४.८८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर भदौमा ४.८० प्रतिशतमा झरेको छ । यससँगै एक महिनाको अवधिमा बैंकहरूको औसत आधार दर ०.०८ प्रतिशत विन्दुले घटेको हो ।
भदौमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको आधार दर साउनको ४.२३ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर भदौमा ४.१२ प्रतिशत कायम भएको छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको आधार दर ४.१३ प्रतिशत रहेको छ, जुन साउनको ४.१७ प्रतिशतको तुलनामा ०.०४ प्रतिशत विन्दुले कम हो ।
एभरेष्ट बैंकको आधार दर साउनको ४.३१ प्रतिशतबाट ०.०६ प्रतिशत विन्दुले घटेर ४.२५ प्रतिशतमा आएको छ भने नबिल बैंकको आधार दर ४.४४ प्रतिशतबाट ०.०२ प्रतिशत विन्दुले घटेर ४.४२ प्रतिशत कायम भएको छ ।

यता, नेपाल बैंकको आधार दर ४.५० प्रतिशतबाट ०.०५ प्रतिशत विन्दुले घटेर ४.४५ प्रतिशतमा झरेको छ ।
सबैभन्दा बढी आधार दर रहेको एनआईसी एसिया बैंकको आधार दर साउनको ५.९१ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर भदौमा ५ दशमलव ८० प्रतिशत कायम भएको छ ।
बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग अपेक्षाकृत बढ्न सकेको छैन । निक्षेपको तुलनामा कर्जाको माग कमजोर हुँदा बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र त्यसको प्रभाव आधार दरमा समेत पार्न सहज भएको हो । हाल बैंकहरूले कर्जाको प्रकृतिअनुसार आधार दरमा १ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म थप ब्याज लिने गरेका छन् ।
आधार दरलाई मात्रै हेर्दा सस्तो ब्याजदरमा कर्जा लिन चाहने ग्राहकका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंक तुलनात्मक रूपमा आकर्षक देखिएका छन् । यद्यपि कर्जा लिँदा आधार दरसँगै कर्जाको प्रकृति, बैंकको सेवा स्तर, थप ब्याजदर तथा अन्य शुल्कसमेत विचार गरेर निर्णय गर्नु उपयुक्त हुन्छ ।









