एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई साढे दुई करोड हस्तान्तरण, कर्मचारी दिए ६० लाख

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही भदौं १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दुई करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अक्षरेपी दुई करोड एकाउन्न लाख रुपैयाँ प्रधानमन्त्री विपद कोषमा जम्मा हुने गरी चेक सरकारलाई हस्तान्तरण गरेको हो । बैंकका सिईओ सुदेश खालिङसहितको टिमले अर्थमन्त्री डा. वाग्लेलाई आज अर्थमन्त्रालयमा सो रकमको चेक हस्तान्तरण गरेको हो ।

यसैगरी, बैंकले आफ्ना कर्मचारीहरुको संकलित ६० लाख ५४ हजार ६०५ रुपैयाँ अठ्तिस पैसा समेत गरी नेपाल सरकारको खातामा जाने गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने गरी हस्तान्तरण गरेको हो । बैंकले आज एकमुष्ठ रु तीन करोड ११ लाख ५४ हजार छ सय पाँच रुपैँया अठ्तिस पैसा नगद सहयोग उपलब्ध गराएको छ ।
यसैबीच, नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपदको सामना गर्न अग्रपङ्क्तिमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरुप्रती हार्दिक आभार व्यक्त गरेको छ ।









