प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

१७ भाद्र २०८३, बुधबार ०६:४१

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस शेयर जम्मा गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइसकेपछि शेयरधनीको खातामा पठाइएको हो।

कम्पनीका अनुसार २०८२ चैत २५ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरूले उक्त बोनस शेयर प्राप्त गरेका छन्। बोनस शेयर सम्बन्धित शेयरधनीको अभौतिक अर्थात् डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

यस्तै २०८२ चैत २५ गतेसम्म आफ्नो शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका शेयरधनीको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का गरी खातामा जम्मा गरिएको छ। कर्जा चुक्ता भइसकेको भए सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ।

२०८२ चैत २५ गतेपछि शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा भने बोनस शेयर हितग्राही खातामा रोक्का नराखी जम्मा हुने भएकाले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बोनस शेयर रोक्का भए–नभएको यकिन गर्न कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले हालसम्म भौतिक रूपमा शेयर राखेका तर डिम्याट नगरेका शेयरधनीलाई पनि शेयर डिम्याट गर्न आग्रह गरेको छ। शेयरधनीले प्रभु क्यापिटल, कमलादी वा आफूलाई पायक पर्ने प्रभु बैंकका शाखा तथा अन्य निक्षेप सदस्यमार्फत हितग्राही खाता खोली आफ्नो शेयर डिम्याट गर्न सक्नेछन्।

डिम्याट प्रक्रिया पूरा गरेपछि योग्य शेयरधनीले आफ्नो बोनस शेयरसमेत हितग्राही खातामा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिस्ट्रारको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*