रसुवा घटनाको ९ दिनसम्म बालेन सरकारबाट राष्ट्रिय शोकको घोषणा गरिएन, निर्णय गर्न के ले रोक्यो ?

काठमाडौं । रसुवामा भदौं १० गते विहान बाढी गएको आज नवौं दिन हो । बिनाशकारी बाढीमा हजारौं बगेर बेपत्ता छन् । ९८३ जनाको शव भेटिएको र करिब चार हजार बेपत्ता भएको हालसम्मको तथ्याङ्क छ । आधिकारिक अझै कति छ स्पष्ट भइसकेको छैन । खर्बौको भौतिक सम्पत्ति नष्ट भएको तथा विश्वलाई नै स्तब्ध पार्ने घटनाको नवौं दिनसम्म पनि नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गर्न सकेको छैन । हिजो बसेको संसदमै राष्ट्रिय शोक घोषणा गर्न माग गरेका थिए । तर, सांसदहरुको मागलाई समेत सरकारले विपक्षी सांसदहरुले गरेको माग भनेर पन्छिन खोजेको छ ।
२०७२ सालको आम विनाशकारी भुकम्प अहिलेको भन्दा जटिल, भयावह थियो । छिन छिनमा आइरहने परकम्पका कारण मन्त्रिपरिषदको बैठक समेत चौरमा बस्नुपर्ने अवस्था थियो । सो समयमा २०७२ साल बैशाख १४ गते सम्भवतः भवन बाहिरै चौरमा बसेको मन्त्रिपरिषदको बैठकले बैशाख १५, १६ र १७ गते तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
२०७९ माघ १ गते काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज विहानै पोखरा विमानस्थलमा अवतरणको क्रममा दुघटनाग्रस्त भयो । जहाजमा सवार ६८ यात्रु र चालक दलका सबै सदस्यले ज्यान गुमाए । सो घटना भएकै दिन साँझ नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्यो र माघ २ गते सोमबार राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक विदा समेत दिने निर्णय गरियो ।
सामान्यता, घटनामा ठूलो संख्यामा नागिरकको हताहती हुने वित्तिकै राष्ट्रिय शोक मनाउने परम्परा छ । यो कुरा न राष्ट्रिय स्वतन्त्र पार्टीले बुझ्यो न त सो पार्टीकाको नेतृत्वमा रहेको सरकारले नै । सरकारले त अझ बुझ्न समेत नचाहेर दम्भपूर्ण तरिकाले लत्याएको देखिएको छ । नत्र हिजो दिउँसै संसदमा उठेको बिषयमा हिजै राति मन्त्रिपरिषदको बैठक बसेर निर्णय गर्नुपर्नेमा किन गरिएन ? राष्ट्रिय शोक मनाउने निर्णयका लागि समेत जनता सडकमा उत्रनुपर्ने हो र ? भन्ने अर्को प्रश्न पनि सँगै उठेको छ ।
राष्ट्रिय शोक केवल एउटा निर्णय होइन । निधन भएका जनताको सम्मानमा राज्यभरका जनताले शोक मनाउने एउटा सभ्यता हो । अर्थात राज्यको सभ्यता । तर, यति धेरै नागरिकको निधन भएको घटनामा पीडित जनतालाई सामूहिक श्रद्धान्जली अर्पण गर्ने निर्णय गर्न सरकार डराउनुपर्ने अवस्था छैन । सार्वजनिक विदा दिन वा नदिन जे गर्न पनि सकिन्छ । तर, शोक पुस्तिका मार्फत विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत शोक व्यक्तगर्न मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने हुँदा राष्ट्रिय शोक मनाउने निर्णयको बेग्लै अर्थ छ । यसको भाव, अर्थ, गरिमा अन्तर्राष्ट्रिय अभ्यास बुझेको पाका व्यक्ति प्रधानमन्त्री कार्यालयमा कोही पनि नहुँदा र उरठ्यौला, हाहू गर्ने, आलाकाचाहरु घेरामा बसेका प्रधानमन्त्रीलाई कसले सही सल्लाह देला र कहिले राष्ट्रिय शोक मनाउने निर्णय गर्लान ? प्रतिक्षा गर्नुपर्ने भएको छ ।
रसुवामा आएको बाढीको क्षति भयावह, मानवीय क्षति झनै डरलाग्दो छ । तर सिंहदरवारमा बैठक बस्न र निर्णय गर्न कुनै समस्या छैन । घटना भएको नौ दिनसम्म पनि सरकारले राष्ट्रिय शोक घोषणा नगर्नुले सरकार कुन स्तरबाट सञ्चालन भइरहेको छ भन्ने यही तथ्यले पुष्टि गर्दछ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद युवराज शर्मा र मदन कुमारी शाहले राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग गरेका थिए । तर, सरकारले संसदमा कुरा उठेको झण्डै २४ घण्टा हुनलाग्दा पनि अझै निर्णय गर्न सकेको छैन । राष्ट्रिय शोक मनाउने निर्णय प्राकृतिक विपत्तिमा कुनै ठूलो घटनामा निर्दोष नागरिकले ज्यान गुमाएको घटनाहरुमा गरिन्छ । देशका पूर्व विशिष्ट व्यक्तिको निधनमा अवस्था अनुसार राष्ट्रिय शोक मनाउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । कुनै मित्र राष्ट्रका राष्ट्र प्रमुखको निधन एक दिन राष्ट्रिय शोक मनाउने विश्वभर प्रचलन रहँदै आएको छ ।
तर, यति धेरै नागरिक हताति भएको प्राकृतिक विपत्ति आएको ९ दिनसम्म पनि राष्ट्रिय शोक मनाउनेबारे सोच्ने विद्धानहरु प्रधानमन्त्री कार्यालयमा नरहेको पुष्टी हुन्छ । देशको कार्यकारी प्रधानमन्त्रीको अभ्यास गरिरहेका बालेन्द्र शाहले राष्ट्रिय शोक मनाउनु पर्दछ भनेर थाहा नभए पनि उनका सल्लाहकार गतिलो भइदिएको भए शायद राष्ट्रिय शोक घोषणा गर्न यति ढिलाई हुने थिएन कि ? अब अर्को प्रश्न पनि उठ्छ कतै राष्ट्रिय शोक मनाउने निर्णयमा जस्तै उद्धार तथा राहतमा पनि ढंग पुगेको छैन कि ?
मुख्य सचिवलाई समेत प्रधानमन्त्रीसँग बोल्न नपाउने र औलाको इसाराको भरमा माईन्यूट गर्नुपर्ने गरी कुज्याएर राखेको देश अहिले दुई जना सल्लाहकार वैधानिक र अन्य केही गैर कानुनी सल्लाहकार अनि नेपाली सेनाको भरमा देश चलिरहेको छ ।
अर्को आश्चर्यको कुरा चाही नेपाली सेनाको प्रधानसेनापति अशोक सिग्देललाई पनि राष्ट्रिय शोक मनाउने कुरा थाहा नभएको देखिएको छ । उद्धारमा विदेशबाट आउन खोज्नेहरु सबैलाई रोक्नुपर्दछ भनेर सुुझाव दिने, पाँच दिनसम्म भारत र चिनियाँ उद्धारकर्ताहरुलाई समेत नेपालमा प्रवेश गर्न नदिई मानवीयमा समेत राष्ट्रियता खोज्ने नेपाली सेनाले यति ठूलो घटनामा ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गर्नुपर्दछ, झण्डा आधा झुकाउने निर्णय गर्नुपर्दछ भनेर बालेन शाहलाई सुझाव किन नदिएको होला ?









