माया खोला हाइड्रोपावरलाई १ करोड कित्ता हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट १ करोड कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरिनेछ । यसअनुसार कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव कम्पनीको नवौं वार्षिक साधारणसभाबाट पारित भएपछि पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिइएको थियो । सोही आवेदनका आधारमा आयोगले भदौ १७ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।
पूर्वस्वीकृति प्राप्त भएको जानकारी कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित निकायलाई समेत गराएको छ ।









