ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको आक्रामक लगानीः १२ बैंकको कर्जा २० अर्बमाथि, कुनको कति?

काठमाडौँ । वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब ८५ करोड ३१ लाख रुपैयाँ लगानी गरेका हुन् ।
बैंकहरूको यस्तो लगानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १६ दशमलव ५७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २० वाणिज्य बैंकले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ४ खर्ब ३२ अर्ब २३ करोड ९४ लाख रुपैयाँ लगानी गरेका थिए। एक वर्षको अवधिमा बैंकहरूको लगानी ७१ अर्ब ६१ करोड ३७ लाख रुपैयाँले बढेको देखिन्छ।
जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। समीक्षा अवधिसम्म नबिल बैंकले यस क्षेत्रमा ५३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको यस्तो लगानी ३३ दशमलव १८ प्रतिशतले बढेको हो।
नबिलपछि कुमारी बैंकले ५२ अर्ब ६० करोड १३ लाख रुपैयाँ लगानी गरेको छ। बैंकको लगानी एक वर्षमा ४९ दशमलव ५९ प्रतिशतले बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३६ अर्ब ४८ करोड २० लाख, लक्ष्मी सनराइज बैंकले ३४ अर्ब ११ करोड ९६ लाख र ग्लोबल आइएमई बैंकले ३२ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन्।

यस्तै, एनएमबी बैंकको लगानी ३० अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने सानिमा बैंकले ३० अर्ब ४४ करोड ७४ लाख र एभरेस्ट बैंकले २७ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानी गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब ३९ करोड ५४ लाख र प्राइम बैंकले २६ अर्ब ८७ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन्।
सिटिजन्स बैंकको लगानी २४ अर्ब १६ करोड ४३ लाख, सिद्धार्थ बैंकको २२ अर्ब ३८ करोड ६९ लाख, प्रभु बैंकको १९ अर्ब ८७ करोड ८१ लाख र हिमालयन बैंकको १८ अर्ब २४ करोड ५८ लाख रुपैयाँ रहेको छ। नेपाल बैंकले १७ अर्ब ४६ करोड ८३ लाख, माछापुच्छ्रे बैंकले १६ अर्ब ३१ करोड ७० लाख र कृषि विकास बैंकले १३ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन्।
नेपाल एसबिआई बैंकले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ११ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको लगानी ५ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ रहेको छ।
त्यसैगरी, एनआईसी एसिया बैंकको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानी सबैभन्दा कम रहेको छ। समीक्षा अवधिसम्म बैंकले यस क्षेत्रमा २ अर्ब २५ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यसको लगानी ६३ दशमलव ३६ प्रतिशतले घटेको छ।









