सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी, केहि कागजात जले

काठमाडौँ । सर्वोच्च अदालतको अभिलेख शाखामा गएराति आगलागी भएको छ । आगलागीबाट प्रयोगमा नरहेका पुराना कागजात जलेका छन् भने विचाराधीन मुद्दासँग सम्बन्धित केही कागजातमा सामान्य क्षति पुगेको अदालत प्रशासनले जनाएको छ ।
आगलागी भएको जानकारी पाएपछि अदालतका सुरक्षाकर्मी तथा कर्मचारी घटनास्थलमा पुगेका थिए । उनीहरूले दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए ।
नयाँ निर्माण गरिएको भवनमा रहेको अभिलेख शाखामा विद्युत्को प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान कर्मचारीहरूले गरेका छन् । आगलागीबाट भएको क्षतिको थप विवरण भने संकलन भइरहेको छ ।
अदालतमा फैसला भइसकेका मुद्दाका मिसिल तथा सम्बन्धित कागजात सुरक्षित राख्न अभिलेख शाखाको व्यवस्था गरिएको हुन्छ । लामो समयसम्म भण्डारण गरिएका आवश्यकताविहीन मिसिलहरू निश्चित प्रक्रियापछि नष्ट गर्ने गरिन्छ भने फैसला र अन्य महत्वपूर्ण अभिलेखलाई सुरक्षित राखिन्छ ।











