गोरखाको चुमनुब्रीमा राति आएको बाढीले चार घर र झोलुङ्गे पुल बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा राति आएको बाढीले चारवटा घर बगाएको छ। बाढीले वडा नम्बर ४ र २ जोड्ने फलामको पुलसमेत बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बिहान करिब ३ बजेतिर नाम्रुङ खोलामा अचानक बाढी आएको थियो। बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको हो।
बाढी आउन थालेपछि स्थानीयले समयमै सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। खोलाको मुहानतिर केही समय पानी थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आइतबार बिहान ४ः४० बजेदेखि बाढीको बहाव घट्दै गएको र अहिले खोला सामान्य अवस्थामा फर्किएको छ। नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले त्यसको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।











