निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता पनि २० लाख पार

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर विस्तार भइरहेको देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ क्षेत्रमा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल निक्षेप खाता संख्या ६ करोड ३४ लाख २५ हजार २ सय ९६ पुगेको हो ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ लाख ९६ हजार ९ सय २९ ले बढी हो । प्रतिशतका आधारमा हेर्दा एक वर्षमा निक्षेप खाताको संख्या ८ दशमलव ५५ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकिङ प्रणालीमा ५ करोड ९४ लाख २९ हजार ३ सय ६७ वटा निक्षेप खाता सञ्चालनमा थिए ।
बैंकिङ प्रणालीमा रहेका निक्षेप खातामध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूको रहेको छ । राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ मा वाणिज्य बैंकहरूमा मात्रै ५ करोड ४४ लाख ४९ हजार ५ सय ३९ वटा निक्षेप खाता सञ्चालनमा छन् । त्यस्तै, विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६ सय ७२ र फाइनान्स कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा निक्षेप खाता रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा ५ करोड ९ लाख ८६ हजार १ सय ७१ वटा निक्षेप खाता थिए । त्यसैगरी विकास बैंकहरूमा ७४ लाख ५३ हजार ३ सय ४७ तथा फाइनान्स कम्पनीहरूमा ९ लाख ६७ हजार ८ सय ४९ वटा खाता सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस आधारमा हेर्दा पछिल्लो एक वर्षमा तीनवटै समूहका वित्तीय संस्थामा निक्षेप खाताको संख्या बढेको छ ।
निक्षेप खाताको विस्तारसँगै बैंकिङ प्रणालीबाट कर्जा लिने खाताको संख्या पनि बढेको छ । आव २०८२/०८३ मा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या २० लाख ३१ हजार ६ सय ३४ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कर्जा खाताको संख्या १९ लाख ५५ हजार ५ सय ५८ रहेको थियो ।
एक वर्षको अवधिमा कर्जा खाताको संख्या ७६ हजार ७६ ले बढेको छ । निक्षेप खाताको तुलनामा कर्जा खाताको विस्तार केही सीमित देखिए पनि बैंकिङ प्रणालीबाट कर्जा उपयोग गर्ने ग्राहकको आधार विस्तार हुँदै गएको तथ्यांकले देखाउँछ ।
कर्जा खातातर्फ पनि वाणिज्य बैंकहरू नै अगाडि छन् । समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा १७ लाख ९ सय ३४ वटा कर्जा खाता सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । विकास बैंकहरूमा २ लाख ६१ हजार ४ सय ४७ र फाइनान्स कम्पनीहरूमा ६८ हजार ९ सय ८३ वटा कर्जा खाता रहेका छन् ।
अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूमा १६ लाख ४४ हजार ५ सय ४५ वटा कर्जा खाता थिए । विकास बैंकमा २ लाख ७१ हजार २७ र फाइनान्स कम्पनीमा ५० हजार ९ सय ८५ वटा कर्जा खाता सञ्चालनमा रहेको थियो । यसरी हेर्दा वाणिज्य बैंक र फाइनान्स कम्पनीतर्फ कर्जा खाताको संख्या बढेको छ भने विकास बैंकमा भने अघिल्लो वर्षको तुलनामा केही कमी आएको देखिन्छ ।









