कृष्णभीर पहिरोको भित्री भागमा सोचेभन्दा बढी दरार, स्थायी समाधानका लागि दुई विकल्प

२१ भाद्र २०८३, आईतवार १७:००

काठमाडौँ । सडक विभागले धादिङको कृष्णभीरमा पुनः सक्रिय भएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन विकल्पको अध्ययन अघि बढाएको छ । विभागले तत्काल यातायात सञ्चालनमा ल्याउने कामसँगै पहिरोको स्थायी समाधानका लागि सुरुङमार्ग निर्माण वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक निर्माण गर्ने विकल्पमा अध्ययन थालेको हो ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार कृष्णभीरको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पछिल्लो वर्षा र बाढीका कारण पहिरो पुनः सक्रिय भएको बताए । उनका अनुसार रसुवामा आएको बाढीपछि कृष्णभीरको तल्लो भागमा कटान हुँदा सडकको सुरक्षा पर्खाल भत्किएको र त्यसपछि पहिरोको जोखिम बढेको हो ।

पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभागले चौबीसै घण्टा काम गरिरहेको जैसीले जानकारी दिए । ट्रयाक खोल्ने क्रममा पहाडको भित्री भागमा अपेक्षा गरिएभन्दा बढी दरार देखिएपछि तत्काल त्यसलाई सिल गर्ने तथा विज्ञहरूको परामर्शमा भौगर्भिक अवस्थाको थप अध्ययन गर्ने काम भइरहेको उनले बताए ।

कामलाई तीव्रता दिन विश्व बैंकको ठेक्काअन्तर्गत रहेका निर्माण व्यवसायी तथा उपकरण परिचालन गरिएको विभागले जनाएको छ । रातको समयमा पनि फ्लड लाइटको व्यवस्था गरेर काम भइरहेको छ । प्राविधिक जटिलताका कारण सडक कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने यकिन मिति तोक्न नसकिए पनि उच्च प्राथमिकताका साथ काम भइरहेको जैसीको भनाइ छ ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण गर्ने वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक निकाल्दै दुईवटा पुल निर्माण गर्ने विकल्पमा अध्ययन भइरहेको उनले बताए । प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती विकल्प छनोट गरेर अघि बढाइने विभागको तयारी छ ।

यसैबीच, त्रिशूली करिडोरलगायत विभिन्न क्षेत्रमा क्षति पुगेका करिब २९ वटा पुलको मर्मत, पुनर्निर्माण र पुनःस्थापनालाई पनि विभागले प्राथमिकतामा राखेको छ । धादिङको फुर्केखोला पुलमा ९४ मिटर लामो स्पान पार गर्न पिलरविहीन बेलीब्रिज जडान गर्ने विषयमा चिनियाँ प्राविधिक विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले बताए ।

चीनबाट प्राप्त १०० मिटर लामो पुल फुर्केखोलामा जडान गर्न सकिएमा दुईदेखि तीन साताभित्र उक्त क्षेत्रमा यातायात सञ्चालन गर्न सकिने विभागको अनुमान छ ।

पुल निर्माण तथा पुनर्निर्माणमा विभागसँग आवश्यक प्राविधिक क्षमता रहेको उल्लेख गर्दै जैसीले क्षतिग्रस्त संरचनालाई सकेसम्म छिटो पूर्ववत् अवस्थामा ल्याउने प्रतिबद्धता जनाए । देशभर फैलिएको करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई नियमित र सुरक्षित राख्नु चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विभाग निरन्तर काममा खटिएको उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*