बाढीपीडितको ठाउँमा पुग्दै म्याद गुज्रेका खाद्यवस्तु, अनुगमनमा खुल्यो यस्तो त्रुटि

२१ भाद्र २०८३, आईतवार १७:३३

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि पठाउने तयारीमा राखिएका राहत सामग्रीको गुणस्तरमा गम्भीर त्रुटि भेटिएको छ । पीडितलाई वितरण गर्न छुट्याइएका खाद्यवस्तुमध्ये केहीको उपभोग्य अवधि सकिएको र केही सामग्री वितरणयोग्य नरहेको अनुगमनका क्रममा पत्ता लागेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौंस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले राजधानीका पाँच स्थानमा आकस्मिक निरीक्षण गर्दा राहतका नाममा राखिएका सामग्रीको व्यवस्थापनमा लापरबाही देखिएको जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको निरीक्षणका क्रममा सरकारी कार्यालयदेखि प्रहरी तालिम केन्द्रसम्म भण्डारण गरिएका राहत सामग्री जाँच गरिएको थियो । त्यस क्रममा बबरमहलको सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीको प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा राखिएका खाद्य सामग्रीमा समस्या भेटिएको हो ।

राहत संकलन तथा प्याकिङका लागि तयारी अवस्थामा राखिएका सामग्रीसँगै म्याद समाप्त भएका खाद्यवस्तु पनि मिसाएर राखिएको थियो ।

बबरमहलमा रहेको सहरी विकास तथा भवन निर्माण विभागमा जाँच गर्दा रुपन्देहीस्थित यशोदा फुड्स प्रालिले उत्पादन गरेको ‘करेन्ट चिप्स’ तथा बुटवलको गिरिधारी फुड प्रडक्टको ‘भुजा’ उपभोग्य अवधि पार गरिसकेको अवस्थामा फेला परेको थियो । टोलीले ३० प्याकेट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाएको छ ।

म्याद सकिएका ती सामग्रीलाई अन्य राहत सामग्रीबाट अलग गरी ‘एक्स्पायर्ड जोन’मा राखिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा गरिएको निरीक्षणमा पनि दुई प्याकेट अर्थात् १८ थान ‘चोकोफन’ र पाँच किलो तौलको एक प्याकेट चक्की आटा म्याद नाघेको अवस्थामा भेटिएको थियो । त्यहाँ राखिएका ‘अल इन वान’ दालमोठका ५९ प्याकेटको उपभोग्य मिति भने सकिन दुई दिन मात्रै बाँकी रहेको पाइएको थियो ।

राहत वितरणको समयलाई ध्यानमा राख्दै विभागले म्याद सकिएका खाद्यवस्तुसँगै दुई दिन मात्रै उपयोग अवधि बाँकी रहेको दालमोठलाई समेत पीडितसम्म नपठाउने निर्णय गरेको छ । ती सामग्री पनि अन्य राहत सामग्रीबाट छुट्ट्याएर राख्न लगाइएको थियो ।

यसैगरी सामाखुसीकै राधा स्वामी सत्सङमा गरिएको जाँचका क्रममा २५ किलो तौलको ‘जयश्री उसिना चामल’को एक बोरा पनि म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*