अब पुरानो लघुवित्त नीति चल्दैन, संशोधन गर्ने बेला आयो: उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले लघुवित्तसम्बन्धी विद्यमान नीति संशोधन गर्ने बेला आएको बताएका छन् । पछिल्लो समय लघुवित्त क्षेत्रको स्थायित्वमै प्रश्न उठ्न थालेकाले पुरानो नीति संशोधन गर्दै अघि बढ्नुपर्ने उनले बताएका हुन् ।
आइतबार डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा. भट्टले नेपाल राष्ट्र बैंकले करिब २० वर्षअघि ल्याएको लघुवित्तसम्बन्धी नीति समयअनुकूल परिमार्जन गर्नुपर्ने बताए ।
लघुवित्त क्षेत्रको विकास र स्थायित्वका लागि बदलिँदो आर्थिक तथा वित्तीय परिवेशअनुसार नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालमा लघुवित्त क्षेत्रले गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए । लघुवित्तमार्फत विपन्न तथा न्यून आय भएका वर्गमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुगेको उनले उल्लेख गरे ।
कार्यक्रममा एक लाख रुपैयाँ राशिको ‘डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार’ लगानी न्युज डटकमका सम्पादक आशिष ज्ञवालीलाई प्रदान गरिएको छ ।
त्यस्तै, लघु उद्यमी पुरस्कार बागमती प्रदेशकी रसिला तामाङलाई प्रदान गरिएको छ । शैक्षिक उत्कृष्टता पुरस्कार कमल पौडेललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि ५०–५० हजार रुपैयाँ रहेको छ ।









