निर्माण क्षेत्रमा बैंकको लगानी वर्षदिनमै ३४ अर्बले बढ्यो, ७ बैंकले दिए १५ अर्ब बढी ऋण

काठमाडौँ । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गर्ने कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा २ खर्ब ३८ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तुलनामा १६.८३ प्रतिशत अर्थात् ३४ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बढी हो।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूको निर्माण क्षेत्रमा कर्जा लगानी २ खर्ब ४ अर्ब ८८ लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा बैंकहरूको निर्माण क्षेत्रप्रतिको लगानी विस्तारले यस क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत गरेको छ।
पछिल्लो समय निर्माण क्षेत्रसँग सम्बन्धित आयोजना तथा पूर्वाधारमा लगानीको वातावरण विस्तारै सहज बन्दै गएपछि बैंकहरूले पनि कर्जा विस्तार गर्न थालेका छन्। लामो समयदेखि सुस्त रहेको निर्माण गतिविधिलाई गति दिन बैंकिङ क्षेत्रको लगानी महत्वपूर्ण आधार बन्ने देखिएको छ। सडक, जलविद्युत्, आवास, व्यापारिक भवन तथा अन्य पूर्वाधार निर्माणमा हुने लगानीले अर्थतन्त्रका अन्य क्षेत्रलाई समेत चलायमान बनाउने भएकाले निर्माण क्षेत्रमा बैंकहरूको बढ्दो लगानीलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
यसबीच भदौ १० गते रसुवा, नुवाकोट तथा धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण दर्जनौँ जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा निर्माण क्षेत्रमा बैंकहरूको कर्जा माग अझ बढ्ने देखिएको छ। क्षतिग्रस्त जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य पूर्वाधार पुनर्निर्माणमा बैंकिङ क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
निर्माण क्षेत्रमा लगानी गर्ने बैंकमध्ये सबैभन्दा अगाडि नबिल बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म निर्माण क्षेत्रमा २७ अर्ब ३६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँको तुलनामा नबिलको निर्माण क्षेत्रको कर्जा १०.२१ प्रतिशत अर्थात् २ अर्ब ५३ करोड ५३ लाख रुपैयाँले बढेको हो।
त्यसपछि लक्ष्मी सनराइज बैंकले निर्माण क्षेत्रमा २५ अर्ब ५० करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको यस्तो लगानी अघिल्लो आर्थिक वर्षको १९ अर्ब ८६ करोड ७२ लाख रुपैयाँबाट ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ अर्थात् २८ दशमलव ३९ प्रतिशतले बढेको हो।

निर्माण क्षेत्रमा बढी कर्जा लगानी गर्ने बैंकको सूचीमा सिटिजन्स बैंक तेस्रो स्थानमा छ। बैंकले यस क्षेत्रमा २० अर्ब ४८ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा १५ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ रहेको यस्तो लगानी एक वर्षमा ३१.९७ प्रतिशत अर्थात् ४ अर्ब ९९ करोड २१ लाख रुपैयाँले बढेको हो।
कृषि विकास बैंकले निर्माण क्षेत्रमा २० अर्ब ३१ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो लगानी १२ अर्ब ५५ करोड ४ लाख रुपैयाँ रहेकोमा एक वर्षमा ६१.८६ प्रतिशत अर्थात् ७ अर्ब ७७ करोड ५९ लाख रुपैयाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा निर्माण क्षेत्रमा कर्जा विस्तार गर्ने बैंकमध्ये कृषि विकास बैंकको वृद्धि उल्लेख्य देखिएको छ।
निर्माण क्षेत्रमा लगानी गर्ने बैंकमध्ये चारवटाको कर्जा भने घटेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लगानी ८.४६ प्रतिशत अर्थात् १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँले घटेर २० अर्ब १७ करोड ८५ लाख रुपैयाँमा झरेको छ।
सबैभन्दा कम निर्माण क्षेत्रको कर्जा लगानी गर्ने बैंक नेपाल एसबीआई बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ९६ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा ९१ करोड ६१ लाख रुपैयाँ रहेको यस्तो लगानी ५ .८१ प्रतिशत अर्थात् ५ करोड ३२ लाख रुपैयाँले बढेको हो।









