अभिकर्ता सशक्तीकरणमा एशियन लाइफ लम्की शाखाको पहल, तीजसँगै पुनर्ताजगी कार्यक्रम

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा कैलालीले तीज विशेष कार्यक्रमसँगै अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । शाखाले अभिकर्ताबीच आत्मीयता बढाउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
भदौ २१ गते आइतबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म लम्कीस्थित साविक सामुदायिक अस्पतालको हलमा आयोजित कार्यक्रम शाखा प्रमुख नवराज खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख गणेशबहादुर साउद प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा शाखाअन्तर्गतका सम्पूर्ण एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीको शाखा कार्यालयका कर्मचारी अम्भा दन्त अवस्थीले जानकारी दिइन् ।
तीज विशेष कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउनुका साथै पुनर्ताजगी कार्यक्रमले उनीहरूलाई बीमा व्यवसायका पछिल्ला गतिविधि, कार्यशैली तथा सेवासम्बन्धी विषयमा अद्यावधिक गराउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा अभिकर्ताहरूको क्षमता अभिवृद्धि, कार्यसम्पादनमा उत्साह थप्ने तथा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्तालाई निरन्तर उत्प्रेरित गर्दै ग्राहकसम्म गुणस्तरीय बीमा सेवा पुर्याउने प्रयासलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।












