सरकारले निकाल्दैछ १० अर्बको विकास ऋणपत्र

२३ भाद्र २०८३, मंगलवार १७:२६

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने क्रममा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार भदौ २४ गते पाँच वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो । सरकारले वार्षिक आन्तरिक ऋणको कार्यतालिकाअनुसार उक्त ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।

कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै भदौ २४ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोलमार्फत ऋणपत्र बिक्री खुला गरिने जनाएको छ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले तोकिएको समयभित्र बोलकबोल पेस गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) पर्याप्त रहेको अवस्थामा सरकारले निष्कासन गर्न लागेको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने अवसर पाउनेछन् । यसबाट बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनमा समेत केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुकले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डीओएमएस प्रणालीमार्फत अनलाइन बोलकबोल पेस गर्न सक्नेछन् । खरिदको न्यूनतम सीमा ५ लाख रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्कासित रकमसम्म हुनेछ । खरिद रकम ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा मात्र बोलकबोल गर्नुपर्नेछ ।

ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने नियमानुसार आयकर लाग्ने कार्यालयले जनाएको छ ।

ऋणपत्रको निष्कासन मिति भदौ २५ गते बिहीबार तोकिएको छ । यसको साँवा भुक्तानी २०८८ भदौ २५ गते हुनेछ । ऋणपत्रलाई धितो राखेर कर्जा लिन वा दिन सकिनेछ भने नेप्से तथा डीओएमएस प्रणालीमार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*