युवा विद्रोहको बर्षदिनः समृद्धिको सपना खरानी, नयाँ द्वन्दतर्फ मुलुक

रिना खत्री
२३ भाद्र २०८३, मंगलवार १९:५४

समाचार टिप्पणी

२०८२ भदौं २३ र २४ गतेको जेनजी आन्दोलन सम्पन्न भई पुरानो सत्ता पतन भएको आज ठीक एक वर्ष पुरा भएको छ । बर्षदिनपछि फर्केर हेर्दा समृद्धिको जनताको सपना उल्टै खरानी बनिरहेको छ भने मुलुक नयाँ द्वन्दतर्फ उन्मुख भइरहेको परिदृष्य अगाडि आएको छ ।

सामाजिक सञ्जालमा वर्तमान बालेन सरकार वा घण्टीको आलोचना गर्ने जो कोहीले चर्को गाली गलौज, अपमान, तिरस्कार र घृणा सहनुपर्दछ । त्यति मात्रै होइन अहिले कसैले समस्यामा परेको, आपत परेको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेमा तत्काल रास्वपा समर्थिक साईबर गुण्डाहरुले यसरी हेय, घृणा, अपमान र तिरस्कार गर्छन कि मानौ ऊ मान्छे नै होइन । पछिल्लो परिदृष्य भोटेकोशीमा बेपत्ता भएका आफ्नो श्रीमानको खोजी गर्न सरकारलाई आग्रह गरेकी एक महिलाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिन् । बालेनका समर्थकहरुले ति महिलाको हूर्मत मात्रै लिएनन्, तथानाम, मात्रै होइन, यहाँ उल्लेख नै गर्न नसिकिने दुत्कार्दै गाली गरे । यतिसम्म भने कि सहयोग, उद्धारको याचिकालाई भोटेकोशीले बगाउन बिर्सेको सम्म भनेर दुरुत्साहन गरे ।

संयुक्त राष्ट्र संघले एउटा समुहले अर्को समुहलाई गरिने घृणा नयाँ द्वन्दको सिर्जना गर्ने भन्दै घृणायुक्त अभिव्यक्तिलाई निषेध गर्ने कार्यविधि नै बनाएको छ । घृणायुक्त अभिव्यक्तिलाई जातीय नरसंहार जत्तिकै अपराधको रुपमा परिभाषित गरेको छ । संयुक्त राष्ट्र संघ मानव अधिकार सम्बन्धी उच्चायुक्तको कार्यालयले घृणायुक्त अभिव्यक्तिलाई नियन्त्रण गर्नुपर्ने सम्बन्धमा सन् २०१९ मा रणनीतिक कार्ययोजना नै तयार गरेको छ । त्यसैगरी, युरोपियन युनियनले समेत घृणायुक्त अभिव्यक्तिलाई नयाँ द्वन्द सिर्जना गर्नसक्ने भन्दै सदस्य राष्ट्रभित्र यस्तो कार्यलाई निषेध गरेको छ ।

वैज्ञानिक जेरेमी वाल्ड्रोनले आफ्नो पुस्तकमा घृणायुक्त अभिव्यक्तिले समाजमा नयाँ द्वन्द सिर्जना गर्ने सिद्धान्त धेरै पहिले नै प्रतिपादन गरेका हुन् । आधुनिक युगका वैज्ञानिक तथा समाजशास्त्री फिलिप टेलरले सूचना प्रविधिको युगमा सामाजिक सञ्जालमार्फत घृणायुक्त अभिव्यक्तिका कारण समाजमा द्वन्द फैलिने सैद्धान्तिक व्याख्या गरेको पाइन्छ ।

उल्लेखित सिद्धान्त, संयुक्त राष्ट्र संघले घृणा नियन्त्रणको सम्बन्धी कार्यविधिले अहिले नेपालमा घण्टी समर्थक समुह नै बनाएर, पार्टीगत लाभको लागि जनतामाथि गरिएको घृणाले नयाँ द्वन्द अब धेरै टाढा छैन भन्ने विश्लेषण गर्न कठिन छैन । नेपालले २०५२ देखि २०६३ बैशाख १५ गतेसम्म १० बर्ष द्वन्दमा फसेर राजनीतिक दलहरुको सुझबुझपूर्ण र ऐतिहासिक निर्णय गर्दै सहकार्य, समझारी र माफीको विधिमार्फत सामाजिक पुनस्र्थापना, आपसी मेलमिलापको विधिमार्फत शान्ति स्थापना भइसकेको छ ।

एउटा बर्गीय द्वन्द अन्त्य भएको २० बर्षपछि पुनः नयाँ द्वन्दतर्फ मुलुक अघि बढिसकेको छ । केपी ओलीका समर्थकहरुले जनतामाथि घृणा, तिरस्कार गर्दाको परिणाम गत बर्षको भदौं २३ र २४ गतेको विध्वांसात्मक आन्दोलन भएको थियो । तर, अहिले केपी ओलीका अन्धभक्त समर्थकले गरेको भन्दा घृणाको दश गुणा बढी घृणा, तिरस्कार रास्वपा समर्थिक नेता कार्यकर्ताहरुले गरिरहेका छन् । जुन घृणाले अब सिंगो मुलुकलाई नै नयाँ द्वन्दतर्फ धकेलिरहेको छ । जनताले दुई तिहाई नजिक बहुमत दिएको बाहनामा पछिल्लो साढे पाँच महिनामा जसरी सरकार अघि बढिरहेको छ, त्यसले मुलुकमा स्थायी शान्तिको आकांक्षामाथि चुनौति थपिदिएको छ ।

मानव अधिकारको आधारभूत अधिकार मात्रै होइन, नागरिकको बाँच्न पाउने अधिकार, सुकुम्बासीदेखि अहिले भोटेकोशी प्रभावितमाथि सरकार र रास्वपाका कार्यकर्ताहरुले गरेको व्यवहार, मानसिकता, सोच र सामाजिक सञ्जालमा रंगिएका पोष्टहरुले आर्थिक समृद्धितर्फ मुलुक अघि बढ्न नसक्ने, सहिदका सपना अधुरै रहने स्पष्ट संकेत गरेकोतर्फ बालेन सरकार र रास्वपा घण्टी पार्टीको ध्यान नपुर्याए केपी ओलीलाई झै पछुतो बाहेक अन्यथा हुने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*