जेनजी आन्दोलनको एक वर्षः २३ अर्बको बीमा दाबीमा ९ अर्ब पनि भुक्तानी भएन

२४ भाद्र २०८३, बुधबार १४:३१

काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबीमा बीमितले पूर्ण भुक्तानी पाउन अझै सकेका छैनन् । आन्दोलन भएको एक वर्ष पूरा हुँदासमेत २३ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबीमध्ये बीमा कम्पनीहरूले करिब ९ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ३ हजार ३ सय ९० बीमितले २३ अर्ब १९ करोड रुपैयाँ बराबरको बीमा दाबी गरेका छन् । तर, गत असार २२ गतेसम्म बीमा कम्पनीहरूले ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी गरेका छन् । यो कुल माग दाबीको करिब ३८ प्रतिशत हो ।

आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र अन्य क्षति भएको थियो । प्राधिकरणका अनुसार आन्दोलनबाट कुल ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएकोमा बीमा गरिएको सम्पत्तिको क्षति भने २३ अर्ब १९ करोड रुपैयाँ बराबरको रहेको छ ।

आन्दोलनमा चन्द्रागिरि केबुलकार, भाटभटेनी सुपरमार्केट, विभिन्न सवारीसाधनका सोरुम, बैंकका शाखा कार्यालय, मौलाकालिका केबुलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, हायात रिजेन्सी होटललगायतका व्यवसाय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो ।

जेनजी आन्दोलनबाट भाटभटेनी सुपरमार्केटमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । सो क्षतिबापत भाटभटेनीले ८ अर्ब रुपैयाँको बीमा दाबी गरेकोमा हालसम्म करिब साढे २ अर्ब रुपैयाँ मात्र भुक्तानी पाएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार क्षतिको मूल्याङ्कनमा समय लागेकाले बीमा दाबी भुक्तानीमा ढिलाइ भएको हो । बाँकी दाबी पनि प्रक्रियामै रहेकाले आगामी दिनमा भुक्तानी हुने उनले बताए ।

भाटभटेनीले स्टकको क्षतिबापत ५ अर्ब रुपैयाँ र भवन क्षतिबापत ३ अर्ब रुपैयाँ मागदाबी गरेको हो ।

आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको होटल हिल्टनले भने हालसम्म बीमा दाबीको एडभान्स भुक्तानीसमेत पाउन सकेको छैन ।

होटल स्रोतका अनुसार हिल्टनले करिब ५ अर्ब रुपैयाँको बीमा दाबी गरेको भए पनि अहिलेसम्म कुनै रकम भुक्तानी भएको छैन ।

बीमा प्राधिकरणका एक अधिकारीका अनुसार कुल २३ अर्ब १९ करोड रुपैयाँको माग दाबी आए पनि सबै रकम भुक्तानीयोग्य नहुन सक्छ । प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १५ अर्ब रुपैयाँ भुक्तानीयोग्य रकम रहेको उनले बताए ।

उनका अनुसार थप ४ देखि ५ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी अन्तिम प्रक्रियामा रहेको छ । उक्त रकमसमेत जोड्दा हालसम्म करिब १३ देखि १४ अर्ब रुपैयाँसम्म भुक्तानी हुने अवस्था रहेको उनले जानकारी दिए ।

बीमितले माग गरेको सम्पूर्ण रकम नै कम्पनीले भुक्तानी गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणको भनाइ छ । क्षतिको वास्तविक मूल्याङ्कनपछि मात्र भुक्तानीयोग्य रकम निर्धारण हुने भएकाले माग दाबी र अन्तिम भुक्तानी रकममा फरक पर्न सक्ने अधिकारीले बताए ।

‘बीमितले क्षतिपूर्ति माग गरेपछि कम्पनीले क्षतिको मूल्याङ्कन गरेर मात्र भुक्तानी दिन्छ । मूल्याङ्कनका क्रममा कतिपय दाबी भुक्तानी गर्न नपर्ने वा माग गरेजति रकम भुक्तानी नहुने अवस्था पनि हुन्छ,’ ती अधिकारीले भने ।

दाबीसम्बन्धी विवाद अदालतसम्म पुग्दा पनि भुक्तानीमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।

प्राधिकरणका अधिकारीका अनुसार जेनजी आन्दोलनमा आगजनीबाट ठूलो परिमाणमा स्टक तथा सामान नष्ट भएकाले क्षतिको वास्तविक मूल्याङ्कन गर्न समय लागेको हो ।

‘आगलागीका कारण सामान जलेपछि स्टक भेटिँदैन । त्यसको मूल्याङ्कन निकाल्नुपर्ने र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । यस्ता मसिना प्रक्रियामा समय लाग्ने भएकाले भुक्तानी ढिलो भएको हो,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*