सोना र सोना श्री सिमेन्ट बेचेर वर्षदिनमै ४ अर्बको व्यापार, ऋणभार भने टाउको दुखाइ

काठमाडौं । सिमेन्ट बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सोनापुर मिनरल्स एन्ड आयलले पछिल्लो आर्थिक वर्षमा व्यापार र सञ्चालन नाफा दुवैमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ जुन अघिल्लो वर्षको तुलनामा निकै ठूलो वृद्धि हो । बढ्दो बिक्री परिमाण र सिमेन्टको मूल्यमा आएको वृद्धिले कम्पनीको आम्दानी उकासिएको देखिन्छ ।
कम्पनीको पछिल्लो वर्षको कारोबारलाई विगत केही वर्षको अवस्थासँग तुलना गर्दा यसको व्यापार विस्तारको गति लिएको छ । सन् २०२५ मा कम्पनीले २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०२४ मा १ अर्ब ६४ करोड १० लाख, सन् २०२३ मा १ अर्ब ८० करोड १० लाख र सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२५ को तुलनामा सन् २०२६ मा कम्पनीको व्यापार ६८ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा सिमेन्टको बिक्री परिमाण बढ्नुका साथै बिक्री मूल्यमा समेत वृद्धि भएकाले कुल व्यापारमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो । निर्माण गतिविधि, बजार माग र सिमेन्ट बिक्रीको अवस्थाले कम्पनीको आम्दानी बढाउन सहयोग गरेको देखिन्छ ।
कारोबारसँगै कम्पनीको सञ्चालन क्षमतामा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा १ अर्ब ५ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले बढी हो । सञ्चालन नाफा बढेसँगै सञ्चालन मार्जिनसमेत सुधार भएको छ । सन् २०२५ मा २२.२६ प्रतिशत रहेको सञ्चालन मार्जिन गत वर्ष २३.९६ प्रतिशत पुगेको छ ।
कम्पनीको खुद नाफामा आएको वृद्धि पनि उल्लेखनीय छ । गत आर्थिक वर्षमा सोनापुर मिनरल्सले ३३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ४ करोड ७० लाख रुपैयाँ मात्र थियो । एक वर्षको अवधिमा खुद नाफा ठूलो परिमाणमा बढ्नुले कारोबार विस्तारसँगै कम्पनीको समग्र वित्तीय प्रदर्शनमा सुधार आएको देखाउँछ ।
नाफामा सुधारसँगै कम्पनीको नगद अवस्थामा पनि सकारात्मक परिवर्तन देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीसँग रहेको कुल नगद सञ्चिति ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ मा यस्तो नगद सञ्चिति १९ करोड ६० लाख रुपैयाँ थियो । कारोबार र नाफा बढेसँगै नगद सञ्चितिमा आएको वृद्धिले कम्पनीको तत्कालीन वित्तीय तरलता बलियो बनेको संकेत गर्छ ।
अर्कोतर्फ कम्पनीले आफ्नो कुल ऋणको आकार पनि केही घटाएको छ । सन् २०२५ मा ६ अर्ब ७८ करोड ३० लाख रुपैयाँ रहेको कुल ऋण गत आर्थिक वर्षमा घटेर ६ अर्ब ४० करोड २० लाख रुपैयाँमा झरेको छ । व्यापार र नाफा बढिरहेको अवस्थामा ऋणको आकार घट्नु कम्पनीको वित्तीय संरचनाका लागि सकारात्मक पक्ष मान्न सकिन्छ ।
कम्पनीको गियरिङ अनुपातमा सुुधार देखिएको छ । कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ मा १.३४ गुणा रहेकोमा गत आर्थिक वर्षमा सुधार भएर १.२५ गुणामा झरेको छ । कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात भने १.७९ गुणा रहेको छ ।
कम्पनीको ऋण तिर्न सक्ने क्षमतासम्बन्धी सूचकहरूमा समेत सुधार आएको छ । सन् २०२५ मा १.५४ गुणा रहेको ब्याज कभरेज अनुपात गत वर्ष २.२६ गुणा पुगेको छ । त्यस्तै, ऋण सेवा धान्न सक्ने क्षमता मापन गर्ने ऋण सेवा कभरेज अनुपात पनि ०.९३ गुणाबाट बढेर १.२८ गुणा पुगेको छ ।
अर्कोतर्फ कम्पनीले आफ्नो कुल ऋणको आकारको बोझ भने उस्तै रहेको छ । सन् २०२५ मा ६ अर्ब ७८ करोड ३० लाख रुपैयाँ रहेको कुल ऋण गत आर्थिक वर्षमा घटेर ६ अर्ब ४० करोड २० लाख रुपैयाँमा झरेको छ । तर, उक्त ऋण पनि अत्याधिक नै रहेको देखिएको हो ।
सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको कम्पनी हो । सन् २०२२ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले ओपीसी सिमेन्ट ‘सोना सिमेन्ट’ ब्रान्ड तथा पीपीसी सिमेन्ट ‘सोना श्री सिमेन्ट’ ब्रान्डमार्फत नेपाली बजारमा बिक्री गर्दै आएको छ । सिमेन्ट उत्पादन र बिक्रीलाई मुख्य व्यवसाय बनाएको कम्पनीका लागि पछिल्लो वर्षको व्यापार विस्तारले बजारमा आफ्नो पहुँच बढाउँदै गएको संकेत गरेको छ ।
कम्पनीको स्वामित्व संरचनामा निपेश तयालको १५.८१ प्रतिशत, आरपी माइनिङ प्रालिको १५.८० प्रतिशत र ए एन माइनिङ प्रालिको १२.४७ प्रतिशत हिस्सा रहेको छ । यी तीन प्रमुख लगानीकर्ताको संयुक्त स्वामित्व कम्पनीको चुक्ता पुँजीको ४४.०८ प्रतिशत रहेको छ ।
कम्पनीले आफ्नो दीर्घकालीन तथा अल्पकालीन कर्जा आवश्यकताका लागि कुल ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसअन्तर्गत ६ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि आईआरएन बीबीप्लस र २ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि आईआरएन ए४प्लस रेटिङ प्राप्त गरेको छ ।









