मर्जरको खबरसँगै सिन्धु र जानकीको शेयरमा पहिरो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको छ ।
मुक्तिनाथ विकास बैंकले दुवै संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेपछि त्यसको प्रभाव दोस्रो बजारमा देखिएको हो । एक्विजिसनसम्बन्धी खबर सार्वजनिक भएपछि पछिल्ला दुई कारोबार दिनमै सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्यमा ठूलो गिरावट आएको छ ।
प्रारम्भिक सम्झौता भएको दिन नै दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो । त्यसपछि पनि बिक्री चाप कायमै रहँदा दुवै कम्पनीका लगानीकर्ताले थप मूल्य घटेको सामना गरेका छन् ।
बुधबार समाचार तयार पार्दासम्म सिन्धु विकास बैंकको सेयरमूल्य १४.९९ प्रतिशतले घटेको छ । त्यस्तै, जानकी फाइनान्सको सेयरमूल्य पनि १४.१९ प्रतिशतले ओरालो लागेको छ ।
एक्विजिसनको खबरसँगै आएको निरन्तरको गिरावटले लगानीकर्तामाझ तीनवटै संस्थाबीच अघि बढेको एक्विजिसन तथा मर्जर प्रक्रियाबारे चासो र चिन्ता बढाएको छ । विशेषगरी प्राप्ति प्रक्रियापछि सेयर स्वाप अनुपात, संस्थागत संरचना तथा लगानीकर्ताको हितमा पर्ने प्रभावलाई लिएर बजारमा विभिन्न प्रश्न उठ्न थालेका छन् ।









