चार दिनको उकालो यात्रामा ब्रेकः विकास बैंकका लगानीकर्ता डुबे, अझै छ खतरा !

२४ भाद्र २०८३, बुधबार १५:०४

काठमाडौँ । लगातार चार दिनसम्म सुधारको बाटोमा रहेको शेयर बजारको उकालो यात्रामा बुधबार ब्रेक लागेको छ । पछिल्ला केही दिनदेखि झिनो सुधार देखिँदै आएको बजार आज भने दोहोरो अंकले ओरालो लागेको हो । बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकममा उल्लेख्य उत्साह देखिएन । यसले लगानीकर्ताहरू अझै पनि बजारको आगामी दिशाबारे स्पष्ट हुन नसकेको र तत्काल ठूलो जोखिम लिनुभन्दा ‘पर्ख र हेर’ रणनीतिमा रहेको संकेत गरेको छ ।
रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा पुर्‍याएको क्षति भने शेयर बजारका लागि प्रमुख चिन्ताको विषय बनेको छ । बाढीका कारण विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनमा क्षति पुगेपछि कतिपय आयोजनाको उत्पादन प्रभावित हुन सक्ने देखिएको छ । उत्पादन अवरुद्ध हुँदा आम्दानीमा कमी आउनुका साथै मर्मत तथा पुनर्निर्माणमा ठूलो खर्च लाग्ने र आयोजना सञ्चालनमा ढिलाइ हुन सक्ने जोखिम बढेको छ । यसले सम्बन्धित जलविद्युत् कम्पनीको वित्तीय विवरण र आगामी आम्दानीमा दबाब पार्न सक्ने भएकाले लगानीकर्ता जलविद्युत् कम्पनीमा लगानी गर्नुअघि आयोजना विशेषको अवस्था अध्ययन गर्न थालेका छन् । यद्यपि बाढीको प्रभाव सबै आयोजनामा समान नरहेकाले समग्र जलविद्युत् क्षेत्रलाई एउटै दृष्टिले हेर्नुभन्दा कम्पनीगत अवस्थाका आधारमा निर्णय गर्ने प्रवृत्ति बढेको छ ।

बाढीको प्रभाव जलविद्युतमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म पर्न सक्ने आकलनले बजारमा थप सावधानी बढाएको छ । भौतिक सम्पत्तिमा भएको क्षतिका कारण बीमा दाबी बढ्न सक्ने र त्यसले निर्जीवन बीमा कम्पनीको नाफामा दबाब पार्न सक्ने सम्भावना छ । यस्तै, बाढीका कारण प्रभावित कम्पनी तथा आयोजनाको वित्तीय अवस्थाले अप्रत्यक्ष रूपमा म्युचुअल फण्डको लगानीमा समेत असर पार्न सक्ने चिन्ता छ ।

अर्कोतर्फ, सिआईबीको निगरानी बढेको र सानो परिमाणमा शेयर खरिद गर्दासमेत छानबिन हुन सक्ने चर्चाले लगानीकर्तालाई थप सतर्क बनाएको छ । यसले कारोबारको गति केही सुस्त बनाए पनि बजारमा अन्धाधुन्ध बिक्री चाप नदेखिनु भने सकारात्मक पक्षका रूपमा हेरिएको छ ।

यसैबीच सरकारले पूँजी बजारमा देखिएका संरचनागत समस्या समाधान गर्दै बजारलाई थप व्यवस्थित र सुदृढ बनाउन ‘पूँजी बजार सुदृढीकरण तथा शेयर बजार सुधार योजना’ ल्याउने तयारी गरिरहेको छ । सरकारले सुधारको योजना अघि बढाउने संकेत गरे पनि त्यसको प्रभाव तत्काल बजारमा देखिन सकेको छैन । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीका शेयरमूल्यमा तीव्र गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । विकास बैंकको शेयर सर्वाधिक २.३७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*