ग्यास नपाएपछि सिलिन्डर बोकेर सिंहदरबार पुगे विद्यार्थी
२४ भाद्र २०८३, बुधबार १८:५६

काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ ।
ग्यासका सिलिन्डर बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पछिल्लो समय विद्यार्थी तथा सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउनुपर्ने तथा ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
ग्यासको आपूर्ति सहज नहुँदा सर्वसाधारणले दैनिक उपभोगमा समस्या भोग्नुपरेको भन्दै विद्यार्थीहरूले तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।









