विनोद चौधरीको वाईवाईमाथि भारतमा कारबाही, उत्पादन बन्द गर्न निर्देशन

काठमाडौं । वाईवाईको उत्पादक सीजी फुड्स इन्डियालाई केही खाद्य उत्पादनको उत्पादन बन्द गर्न निर्देशन दिएको छ। कम्पनीको कारखानामा भुइँमा खसेका र भाँचिएका चाउचाउ पुनः प्रयोग गरी भुजिया बनाइएको भेटिएपछि भारतीय खाद्य नियामकले कम्पनीमाथि कारबाही गरेको हो।
नेपालका उद्योगपति विनोद चौधरीको नेतृत्वमा रहेको सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी सीजी फुड्स इन्डिया प्रालिको राजस्थानस्थित कारखानामा गरिएको निरीक्षणपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले कारबाही अघि बढाएको हो।
प्राधिकरणका अनुसार राजस्थानको अजमेरस्थित रूपनगढमा रहेको कम्पनीको उत्पादन केन्द्रमा खाद्य उत्पादन तथा सरसफाइसम्बन्धी मापदण्डको पालना भए–नभएको जाँच गर्न निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा भुइँमा खसेका तथा भाँचिएका चाउचाउलाई पुनः प्रयोग गरी भुजिया उत्पादन गरिएको भेटिएको थियो। त्यस्ता चाउचाउलाई पुनः प्रयोग गर्दा आवश्यक ताप उपचारसमेत नगरिएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नियामकको अनुसन्धान वाईवाई ब्रान्डका दुई प्रकारका भुजिया उत्पादनमा केन्द्रित थियो। भारतमा भुजिया लोकप्रिय भुटेको खाजा हो। भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणका अनुसार ‘वाईवाई मामा’ र ‘वाईवाई मामा पुन्टे’ नामका भुजिया उत्पादन आवश्यक स्वीकृति नलिई उत्पादन भइरहेकोसमेत भेटिएको थियो।
प्राधिकरणले यसलाई खाद्य सुरक्षा तथा मानकसम्बन्धी सन् २००६ को ऐनको दफा ३१ को उपदफा १ को उल्लंघन भएको जनाएको छ। आवश्यक स्वीकृति र खाद्य सुरक्षा मापदण्ड पूरा नगरी उत्पादन भइरहेका भुजिया उत्पादन तत्काल बन्द गर्न कम्पनीलाई निर्देशन दिइएको छ।
निरीक्षणका क्रममा कम्पनीको उत्पादन केन्द्रबाट खुला तथा भाँचिएका चाउचाउसहित करिब ३२ हजार १०७ दशमलव २ किलोग्राम खाद्य सामग्री नियन्त्रणमा लिइएको छ। त्यस्तै, म्याद सकिएका तयार उत्पादनका एक हजार ९२५ बाकससमेत नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ।
घटनाबारे थप परीक्षण गर्न विभिन्न खाद्य सामग्रीका नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ। प्रयोगशाला परीक्षणको नतिजा तथा निरीक्षणका क्रममा भेटिएका अन्य तथ्यका आधारमा कम्पनीमाथि थप नियामकीय कारबाही हुन सक्ने प्राधिकरणले जनाएको छ।
निरीक्षणका क्रममा खाद्य स्वच्छता र अभिलेख व्यवस्थापनमा समेत विभिन्न कमजोरी भेटिएका थिए। कम्पनीसँग कीरा नियन्त्रणसम्बन्धी पर्याप्त अभिलेख नरहेको तथा खाद्य स्वच्छता र सुरक्षासँग सम्बन्धित अन्य व्यवस्थामा समेत कमजोरी रहेको प्राधिकरणले जनाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले कम्पनीविरुद्ध कडा कानुनी प्रक्रिया सुरु गरिएको जनाएको छ। यद्यपि, घटनाबारे प्रतिक्रिया लिन गरिएको प्रयासमा सीजी फुड्स इन्डियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
भारतमा पछिल्लो समय खाद्य सुरक्षा, सरसफाइ तथा उत्पादनको लेबलसम्बन्धी नियम उल्लंघन गर्ने कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएको छ। यसअघि भारतीय अधिकारीहरूले मुम्बईमा पेप्सीको, नेस्लेलगायत कम्पनीका उत्पादनमा नक्कली म्याद तथा पोषणसम्बन्धी गलत विवरण राख्ने गैरकानुनी गतिविधिमाथि समेत छापा मारेका थिए।









