२ हजार ५ सय नहुँदा अस्पतालले निकाल्यो, बबिताले फुटपाथमै जन्माइन् बच्चा

काठमाडौँ । राजविराजमा पैसा अभावका कारण एक विपन्न महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै प्रसूति हुनुपरेको हो ।
बुधबार बिहान करिब साढे २ बजे अस्पताल परिसरअगाडि बबिताले बच्चा जन्माएकी हुन्। प्रसूति व्यथा लागेपछि मंगलबार राति करिब डेढ बजे उनी श्रीमान् हरेराम पासवान र आफन्त दुई महिलासहित सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्।
अस्पताल पुगेपछि प्रसूति विभागमा कार्यरत स्वास्थ्यकर्मीले उपचारअघि अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने बताएका थिए। ती परीक्षणका लागि करिब २ हजार ५ सय रुपैयाँ खर्च हुने जानकारी परिवारलाई दिइएको थियो।
तर बबिताले आफू आर्थिक रूपमा कमजोर रहेको र तत्काल रकम जुटाउन नसक्ने बताएकी थिइन्। परिवारका अनुसार उनले यसअघि पनि तीन सन्तानलाई सामान्य रूपमा जन्म दिएकी थिइन् र त्यसबेला कुनै परीक्षण नगराएको बताएकी थिइन्।
पैसा अभावकै कारण आवश्यक जाँच गराउन नसक्ने अवस्था भएपछि उनलाई अस्पतालबाट बाहिर जान भनिएको परिवारको दाबी छ। त्यसपछि अस्पतालबाट बाहिरिएलगत्तै फुटपाथमै उनलाई प्रसूति व्यथा बढेको र केही समयपछि बच्चा जन्मिएको बताइएको छ।
सरकारी अस्पतालको अगाडि नै महिलाले सडक पेटीमा बच्चा जन्माएको दृश्यको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनुपरेको आरोपसँगै अस्पतालको कार्यशैलीमाथि प्रश्न उठेको छ।
घटनाबारे छानबिन गरी जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने मागसमेत उठिरहेको छ। यसैबीच, घटनाले संघीय संसद्मासमेत प्रवेश पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसद्मा बोल्दै राजविराजको उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार महिलासँग तत्काल २ हजार ५ सय रुपैयाँसमेत पर्याप्त नभएका कारण अस्पतालमा भर्ना हुन नसकेको अवस्था देखिएको छ।
सांसद कर्णले विपन्न नागरिकले आर्थिक अभावकै कारण सरकारी स्वास्थ्य संस्थाबाट उपचार नपाउने अवस्था गम्भीर रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन र आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।









