पुँजी बजार राताम्यः लगानीकर्तामा छ त्रास, किन ओरालो गतिमा मार्केट ?

२५ भाद्र २०८३, बिहीबार १५:०३

काठमाडौँ । शेयर बजार लगातार ओरालो लागेसँगै लगानीकर्ताको मनोविज्ञानमा अन्योल र त्रास स्पष्ट देखिन थालेको छ । बजारको आगामी दिशा अझै प्रस्ट नभएकाले लगानीकर्ताहरू तत्काल ठूलो जोखिम लिनुभन्दा ‘पर्ख र हेर’ रणनीतिमा देखिएका छन् ।

विनाशकारी बाढीले जलविद्युत् आयोजनाका विद्युतगृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनमा पुर्‍याएको क्षतिले जलविद्युत् कम्पनीप्रति थप आशंका सिर्जना गरेको छ । उत्पादन प्रभावित भए आम्दानी घट्ने, मर्मत तथा पुनर्निर्माण खर्च बढ्ने र आयोजना सञ्चालनमा ढिलाइ हुने जोखिमका कारण लगानीकर्ताले अब समग्र जलविद्युत् क्षेत्रभन्दा आयोजना र कम्पनीगत अवस्थालाई प्राथमिकतामा राखेर लगानी निर्णय गर्न थालेका छन् ।

बाढीको सम्भावित असर जलविद्युतमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म फैलिन सक्ने चिन्ताले बजारमा सावधानी थप बढाएको छ। भौतिक सम्पत्तिको क्षतिका कारण बीमा दाबी बढ्न सक्ने भएकाले निर्जीवन बीमा कम्पनीको नाफामा दबाब पर्न सक्छ भने प्रभावित कम्पनी तथा आयोजनाको वित्तीय अवस्थाले म्युचुअल फण्डको लगानीमा समेत अप्रत्यक्ष असर पार्न सक्छ। त्यसमाथि सिआईबीको निगरानी बढेको र सानो परिमाणमा शेयर कारोबार गर्दासमेत छानबिन हुन सक्ने चर्चाले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । यद्यपि बजारमा अन्धाधुन्ध बिक्री चाप नदेखिनु सकारात्मक पक्ष हो । यसको अर्थ लगानीकर्ता पूर्ण रूपमा बजारबाट बाहिरिनुभन्दा जोखिम मूल्याङ्कन गर्दै उपयुक्त अवसरको प्रतीक्षामा रहेको देखिन्छ ।

अर्कोतर्फ, सरकारले पूँजी बजारका संरचनागत समस्या समाधान गरी बजारलाई थप व्यवस्थित र सुदृढ बनाउन ‘पूँजी बजार सुदृढीकरण तथा शेयर बजार सुधार योजना’ ल्याउने तयारी गरिरहेको संकेत दिएको छ । तर सुधारका योजना तत्काल कार्यान्वयनमा नआउँदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेको छैन ।

यसबीच मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएपछि सम्बन्धित कम्पनीका शेयरमूल्यमा आएको तीव्र गिरावटले पनि लगानीकर्ताको मनोविज्ञानमा थप दबाब पारेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अकंले घटेर २५३१.५५ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंकको ०.४७ प्रतिशत, वाणिज्य बैंक समूहको ०.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*